सिमरा विवाद : जेन-जी समूहले राखेका माग कानुनबमोजिम पूरा गर्ने प्रशासनकाे प्रतिबद्धता

मंसिर ५, २०८२ |उपेन्द्र ठाकुर
सिमरा विवाद : जेन-जी समूहले राखेका माग कानुनबमोजिम पूरा गर्ने प्रशासनकाे प्रतिबद्धता

काठमाडौ । एमालेको जागरणसभालाई लिएर भएको झडपपछि बाराको सिमरामा उत्पन्न विवाद समाधानमा भएको छलफलमा जेन-जी समूहले राखेका माग कानुनबमोजिम पूरा गर्न प्रशासनले प्रतिबद्धता जनाएको छ ।

जेन-जी समूहका अगुवा सुधन गुरूङसमेत सहभागी बाराको पथलैमा भएको वार्तामा कानुनबमोजिमका माग पूरा गर्ने सहमति भएको हो । कानुबमोजिमका काम गर्नु आफ्नो दायित्व भएकाले त्यसमै आफू प्रतिबद्ध भएको बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताउनुभयो । 

एमालेको जागरणसभालाई लिएर भएको झडपपछि सिमरामा दुई दिनसम्म तनाव बढेको थियो । यसैबीच, सिमरामा जेन-जीमाथि कुटपिटमा संलग्न भएको आरोप लागेका एमालेका दुई वडाध्यक्षसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले थप एक जनालाई पक्राउ गरेसँगै पक्राउ पर्नेको संख्या तीन पुगेको हो । 

परवानीपुरमा बुधबार एमालेको युवा जागरण अभियान सभालाई सम्बोधन गर्न महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत जहाजमा सिमरा विमानस्थल हुँदै आउने थाहा पाएपछि त्यसको विरोधमा जेन–जीलगायतले प्रदर्शन गरेपछि एमाले कार्यकर्तासँग झडप भएको थियो।


Image

उपेन्द्र ठाकुर

ठाकुर कान्तिपुर टेलिभिजनका पर्सा संवाददाता हुन् ।