कोशी प्रदेशका गहुँ किसान र कृषि प्राविधिकलाई पूर्वसूचना र व्यवस्थापन तालिम

मंसिर २, २०८२ |विनोद घिमिरे
कोशी प्रदेशका गहुँ किसान र कृषि प्राविधिकलाई पूर्वसूचना र व्यवस्थापन तालिम

धनकुटा । कोशी प्रदेशका अगुवा किसान र कृषि प्राविधिकलाई गहुँबालीमा लाग्ने रोग तथा व्यवस्थापन प्रविधि बुझाउँन राष्ट्रिय बालीरोग अनुसन्धान केन्द्रले धनकुटाको पाख्रिबासमा तालिम संचालन गरेको छ । गहुँबालीमा प्रकोपकै रुपमा देखा पर्ने सिंदुरे, डडुवा, कालोपोके र खराने रोगबारे पूर्वसूचना, ब्यवस्थापनका लागि सावधानी र उपचार विधिबारे बुझाउँन तालिम संचालन गरिएको राष्ट्रिय बालीरोग अनुसनधान केन्द्रका प्रमुख सुरज बैद्यले बताउँनुभयो ।

गहुँ खेति हुने कोशी प्रदेशका ११ जिल्लाका व्यवसायिक गहुँ उत्पादक किसान, कृषि ज्ञानकेन्द्र र स्थानीयतहमा रहेका कृषि शाखाका प्रतिनिधि राखेर कृषि विज्ञ, वैज्ञानिक र जलवायू विज्ञले दुईदिन सम्म क्षेत्रगत बिषयका कक्षा संचालन गरेका थिए । उनिहरुले गहुँ खेति अनुकुलन योजना तयार पारी कार्यान्वयनमा सघाउँनु पर्नेछ । सिंदुरे, डडुवा, कालोपोके र खराने रोगले गहुँबालीमा ८० प्रतिशत सम्म नोक्सान पुर्याउने कृषिका अधिकारीको भनाई छ ।

हिउँदे बर्षाको कमि, काम गर्ने जनशक्ति अभाव, मलखादको अव्यवस्था जस्ता कारणले नेपालमा गहुँखेतिको क्षेत्र बिस्तार तथा उत्पादन बढाउँन सकिएको छैन । क्षेत्रफल बिस्तार गर्न नसकेपनि रोगकिरा ब्यवस्थान गर्न सके अहिलेको उत्पादनलाई यथास्थितीमा राख्न सकिने राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रमका संयोजक रोशन बस्नेतको भनाई छ ।

नेपालको हिमाली, मध्य पहाड र तराइ गरि ६० जिल्लामा गहुँ खेति हुँदै आएको छ । करिब ७ लाख हेक्टर क्षेत्रफलमा गरिने खेतिबाट बार्षिक साढे २१ लाख टन गहुँ उत्पादन हुने गरेको तथ्याङ्क छ । नेपालमा अहिले बिजय, गौतम, बीएल लाइन, स्वर्गद्धारी, भेरीगंगा, हिमगंगा, लगायत ५४ प्रकारका गहुँबालीको खेति हुँदै आएको छ । बढि रोग लाग्ने र उत्पादन राम्रो नभएका २१ जातका गहुँलाई भने सरकारले बीउको सूचीबाट हटाएको छ ।


Image

विनोद घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका धनकुटा संवाददाता हुन् ।