
दाङ । खाद्यान्न बाली उत्पादनका लागि त्यति राम्रो ठाँउ नभए पनि दाङको तुलसीपुर उपमहानगरपालिका-१९ छिल्लीकोटमा दुलर्भ वनस्पती सुगन्ध कोकिला अर्थात् मालागेडी भने प्रसस्तै पाइन्छ ।
मुख्य आम्दानीको श्रोत त्यही मालागेडीको फल बेचेर किसानले वार्षिक पचास हजारदेखि १० लाख रूपैयाँसम्म आम्दानी गर्छन् । चैतमा फूल फुल्ने र मंसिरको अन्तिमसम्म पाक्ने मालागेडी भारतीय बजारमा निर्यात हुने गरेको छ। तुलसीपुर १९ छिल्लीकोटमा सुगन्ध कोकिला अथात् मालागेडीका ठूल्ठूला रूखहरू पहिल्यैदेखि थिए ।
सतीदेवीको दाहिने कुम पतन भएको मानिने मल्लागिरी पर्वतमा रहेका ती रूखमा फलेको वासनादार फललाई मालागेडी भनिन्थ्यो । यसको महत्व नबुझ्दा पहिले यो फल यत्तिकै खेर जान्थ्यो । तर अहिले छिल्लीकोटका बासिन्दाको आम्दानीका दरिलो स्रोत बनेको छ ।
वैशाख जेठमा फूल फुलेर भदौ असोजबाट पाक्न सुरू गर्ने यो वनस्पतीको फल निकै वासनादार हुन्छ । यहाँका हरेक घरका सदस्यहरूले अहिले सरकारी तथा सामूदायिक वन तथा आफ्नै बारीका काल्नाबाट यो फल संकलन गरिरहेका छन् । रूख ठूलो हुने भएकाले रूखमा चढेर भन्दा पाकेर भूइामा खसेको फल संकलन गरिन्छ ।
नुहाउने साबुन, स्याम्पो, अत्तर, अगरबत्तीलगायतको कच्चा पदार्थ सुगन्ध कोकिला खरिद गर्न व्यापारीहरू घरमै पुग्ने गर्छन् । आर्थिक उपार्जनको अन्य श्रोत नभएको छिल्लीकोटमा मालागेडी नै आम्दानीको प्रमुख श्रोत हो । अघिल्ला वर्षहरूमा पाँच सय देखि ६ सय रूपैयाँ प्रतिकिलो बिक्री गरेका किसान यो वर्ष बजार मूल्य नभएका कारण चिन्तित बनेका छन् ।
बारीका काल्ना तथा वनमा आफैं उम्रिएका रूख बूढो भएर सुक्दै जानथालेपछि यहाँका स्थानीय नयाँ बिरूवा उत्पादन गरी हुर्काउने प्रयासमा छन् । हरेक घरका बारीका काल्नामा दुई चारवटादेखि ५० बोटसम्म पुराना रूखहरू छन् भने नयाँ बोट पनि हुर्किइरहेका छन् । किसानको प्रयासलाई वन कार्यालयले पनि साथ दिएको डिभिजन वन कार्यालय दाङका वरिष्ठ बन अधिकृत भक्तबहादुर चौधरीले बताउनु भयो ।
मुख्य गरी छिल्लीकोटमा पाइने सुगन्ध कोकिला अहिले तुलसीपुरकै १८ नम्बर वडा घोराहीको १८ वम्बर वडा र बंगलाचुली गाउापालिकाको १ देखि ५ नम्बर वडाका वनमा विस्तार गर्न थालिएको छ । छिल्लीकोटका किसानले मालागेडी बेचेर एक सिजनमा एक घरमा ५० हजारदेखि १० लाख रूपैयाँसम्म आम्दानी गर्छन् । सबै रकम जोड्दा १ देखि २ करोड रूपैयाँ गाउँमा भित्रिन्छ । दाङबाट वार्षिक ३ सयदेखि ४ क्विन्टल मालागेडी निकासी हुने गरेको छ ।