
चितवन । चितवनकाे इच्छाकामना गाउँपालिकामा मंगलबार साँझ बाेलेरो जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।
इच्छाकामना-२ हपनीस्थित भित्रि सडकखण्डमा फिस्लिङबाट हपनीतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००२ झ ६६६२ नम्बरको बाेलेरो हपनी सडकदेखि अन्दाजी पाँच सय मिटर तल खसेको हो । बाेलेरोमा सवार रहेका चार जना घाइते भएका छन् । घाइते हुनेमा बाेलेरो चालक इच्छाकामना-२ बस्ने २५ वर्षीय विकास प्रजा, सोही स्थानका ८० वर्षीय बीरबहादुर प्रजा, १९ वर्षीय विष्णु प्रजा र ३४ वर्षीय कर्ण बहादुर प्रजा रहेका छन् ।
घाइतेमध्ये ८० वर्षीय बीरबहादुरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको बाेलेरोलाई कृषि एम्बुलेन्सको रूपमा प्रयोग गरिएको थियो ।