काठमाडौं । असोज २८ गतेदेखि केन्द्रीय समिति बैठक बसिरहेको कांग्रेस के गरिरहेको छ होला ?
आम मानिसले देख्दा कांग्रेसले गुटका आधारमा झगडा गरिरहेको छ । अनि निर्णय चाहिँ के गर्यो त भन्ने प्रश्नको ठोस जवाफ कांग्रेससँग छैन। केहि दिन अघिसम्म महाधिवेशन आम निर्वाचन अघि कि पछि भन्ने विवाद थियो । अब फेरि अर्को विषयले कांग्रेसमा जबरजस्त प्रवेश पाइरहेको छ । त्यो हो संसद् पुनर्स्थापनाका लागि संसदहरूले सुरू गरेको हस्ताक्षर अभियान ।
विघटित प्रतिनिधि सभामा कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले सांसदहरूको हस्ताक्षर अभियानको नेतृत्व गरिरहनु भएको छ । घिमिरे पार्टीभित्र सभापति शेरबहादुर देउवा समूहका हुन्, त्यसमा पनि कार्यवाहक सभापति पुर्णबहादुर खड्काका विश्वास पात्र मानिन्छन् ।
प्रतिनिधि सभा पुनर्स्थापनाका लागि घिमिरेले सुरू गरेको अभियानमा शेखर कोइराला निकट नेताहरू चन्द्र भण्डारी र दिपक गिरिहरूको पनि साथमा देखिन्छ । उनीहरूले अहिलेसम्म झन्डै ५० जना सांसदले हस्ताक्षर गरिसकेका दाबी गरेका छन् । कार्यवाहक सभापति पूर्णबहादुर खड्का हस्ताक्षर अभियानप्रति मौन बस्दा अर्को पक्षले भने यसलाई महाधिवेशन धकेल्ने प्रपञ्च भएको हुनसक्ने आशंका गरेको छ ।
पार्टीले निर्वाचनमा जाने विषयमा कुनै ठोस निर्णय नगरेका कारण पनि संसद् पुनर्स्थापनाको लागि हस्ताक्षर अभियान चलाउनु परेको श्याम घिमिरे लगायतको दाबी छ । नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको बैठक आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको चुनावअघि महाधिवेशन गर्ने कि चुनावपछि भन्ने विवादमा रूमलिइरहेका बेला प्रतिनिधि सभा पुनर्स्थापनाको विषयले कांग्रेसमा प्रवेश पाएको हो ।
कतिपय नेताहरूले यो अभियान सभापति शेरबहादुर देउवाको चाहनाअनुसार सुरू भएको दाबी गरेका छन् । संसद् पुनर्स्थापना भए सभापति देउवालाई सक्रिय राजनीतिमा फर्किन बल पुग्ने उनीहरूको बुझाइ छ । सभापति देउवा र एमाले अध्यक्ष ओलीनिकट नेताहरूकाअनुसार अहिले पनि दुईबीच नियमित फोन संवाद जारी छ ।
कांग्रेसमा हस्ताक्षर अभियान यहि बेला चलेको छ, जुन बेला एमालेले पनि प्रतिनिधिसभा पूनर्स्थापनाको पक्षमा अदालत जाने तयारी गरिरहेको छ । यहिबेला फेरि कार्यवाहक सभापति पूर्णबहादुर खड्काको मौनता पनि रहस्यमय छ । कांग्रेस भित्र भने चुनावअघि नै नियमित वा विशेष महाधिवेशनको माग गर्नेहरूलाई कमजोर बनाउने रणनीतिका रूपमा खड्का निकट नेताकै नेतृत्वमा चलेको हस्ताक्षर अभियानलाई रणनीतिक मानिएको छ।
त्यसो त सभापति देउवा पनि एक हप्ताभित्रमै नेपाल आउने कांग्रेस नेताहरू बताइरहेका छन् । पार्टीले कुनै पनि ठोस निर्णय लिन नसकेर अनिर्णित बनिरहेका बेला कतिपय नेताहरू पुन: देउवाको भूमिकाको समेत खोजी गरिरहेका छन्। । आफु निकट नेताहरू पुनर्स्थापनाको पक्षमा लागे पनि नेता शेखर कोइरालाले भने अब संसद् पुनर्स्थापना नभइ निर्वाचनमा नै जानुपर्ने बताइरहनु भएको छ ।
भदौ २३ र २४ गतेको आन्दोलनपछि पहिलो पटक बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रतिनिधि सभा विघटन र वर्तमान सरकार गठनलाई असंवैधानिक भनेको थियो । त्यसपछि जारी केन्द्रीय समितिले यसबारे देशका कुनै पनि विषयमा औपचारिक निर्णय गर्न सकेको छैन । कांग्रेसका नेताहरूले चुनावमा जान आफूहरू तयार रहेको औपचारिक निर्णय भने गर्न सकेका छैनन् ।