
काठमाडौं । निर्वाचन आयोगले निर्वाचन प्रक्रिया अघि बढाइरहेकै बेला जेन-जी अगुवाहरूले पनि निर्वाचनको विकल्प नरहेको बताएका छन् ।
भ्रष्टाचार अन्त्य र सुशासन कायम गर्नका आगामी निर्वाचनले ठूलो भूमिका निर्वाह गर्ने उनीहरूको भनाइ छ । तर आन्दोलनपछि दलहरू नसुध्रिएको टिप्पणी उनीहरूले गरेका छन् । जेन-जी अभियन्ता भावना राउतले निर्वाचनले मात्रै मुलुकको गतिरोध अन्त्य गर्नसक्ने बताउनु भएको हो ।
संविधानको रक्षा गर्दै मुलुकलाई अघि बढाउनुपर्नेमा आफूहरू दृढ रहेको उल्लेख गर्दै उहाँले यसका लागि सबै एकजुट हुनुपर्ने बताउनुभयो । अघिल्लो पुस्ताले ठूलो उपलब्धि हासिल गरे पनि आफूहरूलाई फेरि सडकमा आउन बाध्य बनाउनेहरूलाई विदा गर्नुपर्ने र राजनीतिक दलहरू सुध्रिनुपर्ने उहाँको भनाइ छ ।
यसैगरी आन्दोलनमा दमन गर्नेहरू छानबिनको दायरामा आउनुपर्ने मागसमेत अभियन्ता राउतको छ । अभियन्ता युजन राजभण्डारीले अन्तरिम सरकारले आन्दोलनको म्यान्डेटअनुसार काम गर्नुपर्ने उल्लेख गर्नुभएको छ । पहिलो चरणको आन्दोलन सकिए पनि फागुन २१ सम्म आन्दोलन कायमै रहने भएकाले दायाँ-वायाँ गर्ने छुट सरकारसँग नरहेको उहाँले बताउनुभयो ।
यसैगरी अर्का अभियन्ता मिराज ढुंगानाले आन्दोलन २०८४ को चुनाव ८२ मा सार्न मात्र नभएको बताउनुभएको छ । आन्दोलनमा सहभागी युवाहरूले अन्तरिम सरकारको दुई महिने कार्यशैलीप्रति मिश्रित प्रतिक्रिया दिएका छन् ।