
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आम सञ्चार माध्यामलाई टिक्न कठिनाइ हुने अवस्था आएको बताउनुभएको छ ।
आइतबार सार्वजनिक सेवा प्रशारण तथा एनटिभी वर्ल्डको औपचारिक शुभारम्भ समारोहमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । मन्त्री खरेलले सामाजिक सञ्जालको दबदबाले आम सञ्चार माध्यामहरूलाई काम गर्न नै कठिन भएको उल्लेख गर्दै त्यसलाई चिरेर अघि बढ्नुपर्ने आवश्यक रहेको समेत स्पष्ट पार्नुभयो ।
उहाँले आजबाट शुभारम्भ भएको एनटीभी वर्ल्ड च्यानलले बाँकि विश्वलाई हेर्न र बुझन महत्वपूर्ण योगदान पुर्याउने विश्वा समेत व्यक्त गर्नुभयो । मन्त्री खरेलले सार्वजनिक सेवा प्रशारण संस्थालाई आवश्यक सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘अबको दिन बडो चुनौतिपूर्ण छ । अब आम सञ्चार माध्यामलाई टिक्न गाह्रो छ । थेगिन गाह्रो छ । काम गर्न गाह्रो छ । व्यवसायिकतामा धेरै प्रश्नहरू छन । यो चुनौतीको बीचमा हामी जुन काम शुभारम्भ गरेका छौँ । यसले नेपाल र नेपाली मात्रै नभएर बाँकि विश्वलाई नेपालको आँखाबाट हेर्नका लागि यो एनटीभी वर्ल्डले महत्वपूर्ण भुमिका निर्वाह गर्छ भन्ने लागेको छ । अरु कुराहरू आगामी दिनमा धेरै गर्नु छ । यतातर्फ नपाल सरकारको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको तर्फबाट सार्वजनिक सेवा प्रशारण संस्था यो पीएसपीलाई आवश्यक सहयोग गर्न नेपाल सरकार प्रतिबद्ध छ ।’
मन्त्री खरेलले सार्वजनिक सेवा प्रशारण संस्थाहरूले आफ्नो प्रस्तुतीमा धेरै सुधार गर्नुपर्ने आवश्यकतामा समेत औँल्याउनु भयो ।