बिहार निर्वाचनलाई मध्यनजर गर्दै आजदेखि तीन दिनसम्म नेपाल-भारत सिमानामा आवागमन बन्द रहने

कार्तिक २२, २०८२ |अनिल मिश्र
बिहार निर्वाचनलाई मध्यनजर गर्दै आजदेखि तीन दिनसम्म नेपाल-भारत सिमानामा आवागमन बन्द रहने

जनकपुर । भारतीय सीमावर्ती बिहार राज्यमा हुन लागेको दास्राे चरणकाे विधान सभा निर्वाचनलाई मध्यनजर गर्दै शनिबारदेखि तीन दिनसम्म नेपाल-भारत सिमानामा आवागमन बन्द रहनेछ । 

यही कार्तिक २५ गते हुन लागेको बिहार विधान सभाको दोस्रो चरणको निर्वाचनलाई मध्य नजर गर्दै शनिबार साँझ ६ बजेदेखि मंगलबार साँझ ६ बजेसम्म सिमानामा आवागमन बन्द रहने भएको हो । शान्ति सुरक्षा व्यवस्थापनका लागि कार्तिक २२ गते साँझ ६ बजेदेखि २५ गते साँझ ६ बजेसम्म आकस्मिकवाहेक पुर्णतः आवतजावत बन्द रहने धनुषाका सहायक प्रमुख जिल्ला अधिकारीले जारी गर्नुभएको पत्रमा उल्लेख छ । 

दोस्रो चरणकाे निर्वाचनमा सीमावर्ती जिल्लालगायत एक १२२ विधान सभा सिटका लागि १३०२ जना उमेद्‌वारहरूबीच प्रतिस्पर्धा हुन लागेको भारतीय सञ्चार माध्यमले जनाएको छ । बिहारको राजधानी पटनालगायत १८ वटा जिल्लाको १२१ विधान सभाका लागि कार्तिक २० गते सम्पन्न प्रथम चरणको निर्वाचनमा १३१४ जना उमेदवार मैदानमा उत्रेका थिए।

खासगरी बिहारको राजनीतिक सियासतका अधिकतर अनुहार प्रथम चरणकै निर्वाचनमा प्रतिस्पर्धामा उत्रेका थिए । पटना, मुज़फ़्फ़रपुर, दरभंगा, मधेपुरा, सहरसा, गोपालगंज, सिवान, सारण, वैशाली, समस्तीपुर, बेगूसराय, लखीसराय, मुंगेर, शेख़पुरा, नालंदा, बक्सर र भोजपुर जिल्लामा निर्वाचन सम्पन्न भइ सकेको छ ।

सन १९५२ देखि अहिलेसम्मको लोकसभा निर्वाचनको तुलनामा पनि २०२५ को विधान सभाको पहिलो चरणको निर्वाचनमा सर्वाधिक मतदान भएको छ । बिहार विधान सभाको कुल २४३ सिट मध्ये १८ वटा जिल्लाको १२१ निर्वाचन क्षेत्रमा सम्पन्न निर्वाचनमा तीन करोड़ ७५ लाख अर्थात् ६४.६६ प्रतिशत मतदाताहरूले मताधिकार प्रयोग गरेको बीबीसीले जनाएको छ ।

बिहारमा २०२५ को विधान सभा निर्वाचनमा यसपाली एनडीए र विपक्षी महागठबंधनबीच सिधा टक्कर रहेको बताइएको छ । सबै निर्वाचन क्षेत्रको मतगणना एकै पटक १४ नाेभेम्बर अर्थात् कार्तिक २८ गते गर्ने भारत निर्वाचन आयोगको तयारी छ ।


Image

अनिल मिश्र

मिश्र कान्तिपुर टेलिभिजनका जनकपुर संवादताता हुन् ।