
काठमाडौं । राष्ट्रिय सभामा विचाराधीन पाँच विधेयकमध्ये तीन वटामाथि छलफल गर्ने तयारी विधायन व्यवस्थापन समितिले गरेको छ ।
राष्ट्रिय सभामा उत्पत्ति भएकामध्ये पर्यटन, चलचित्र र सामाजिक सञ्जालसम्बन्धी विधेयकमाथि छलफल गर्ने तयारी गरिएको समितिका सचिव मनोजकुमार गिरिले जानकारी दिनुभयो । राष्ट्रिय सभामा अहिले राष्ट्रिय विधि विज्ञान प्रयोगशालासँग सम्बन्धित विधेयक, अभौतिक सांस्कृतिक सम्पदासँग सम्बन्धित विधेयक, पर्यटन विधेयक, चलचित्र विधेयक र सामाजिक सञ्जालसम्बन्धी विधेयक विचाराधीन छन् ।
जेन-जी आन्दोलनपश्चात् गठित सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले प्रतिनिधि सभा विघटन गरेपछि संघीय संसद्मा रहेका ३० वटा विधेयक निष्क्रिय भएका थिए । राष्ट्रिय सभा र प्रतिनिधि सभामा उत्पत्ति भएका यी विधेयक निष्क्रिय भए पनि हाल पाँचवटा विधेयक भने राष्ट्रिय सभामा विचाराधीन अवस्थामा छन् ।
अब बस्ने समितिको बैठकमा उक्त विधेयकको दफावार छलफल अगाडि बढाइने उहाँले बताउनु भयो । सरकारले वैकल्पिक वित्त परिचालनसम्बन्धी कोष स्थापना गर्ने विषयसँग सम्बन्धित विधेयक संघीय संसद्मा पेस गर्ने प्रयोजनका लागि संघीय संसद्मा पठाएको समिति सचिव गिरीले जानकारी दिनुभयो ।
उक्त विधेयकलाई संघीय संसद्को राष्ट्रिय सभा या प्रतिनिधि सभातर्फ अगाडि बढाउने चरणमा रहेको उहाँले जानकारी दिनुभयो । यस्तै सरकारले जारी गरेको मतदाता नामावलीसँग सम्बन्धित अध्यादेशलाई पनि राष्ट्रिय सभामा प्रस्तुत गर्ने तयारी गरिएको उहाँले बताउनु भयो ।
प्रतिनिधि सभा विघटनपछि राष्ट्रिय सभाको बैठक अन्त्य गरिए पनि पुन बोलाइएको छैन । जेन-जी आन्दोलनका क्रममा संसद् भवनमा आगजनी भएपछि बैठक बस्ने ठाउँको समेत समस्या भएको छ । सरकारले सिंहदरबारस्थित कृषि समितिको हलमा राष्ट्रिय सभाको बैठक बोलाउने तयारी गरिरहेको छ ।