काठमाडौं । जेन-जी आन्दोलनका क्रममा गत भदौ २४ गते तीन जना प्रहरीको हत्यामा संलग्न भएको आरोपमा हालसम्म १२ जना पक्राउ परेका छन् ।
तीमध्ये ५ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ भने ७ जना प्रहरी हिरासतमा छन् । २४ गते प्रहरी वृत्त महाराजगन्जका प्रहरी सहायक निरीक्षक मिलन राय र प्रहरी जवान उत्तम थापा र प्रहरी प्रभाग कोटेश्वरका सहायक हवल्दार अमृत गुरूङको हत्या भएको थियो । हत्यामा संलग्न भएको आरोपमा पुर्पक्षका लागि कारागार चलान भएकाहरूले सरकारी वकिलसँगको दिएको बयानमा आफ्नो कसुर स्वीकारेका छन् ।
काठमाडौंको महाराजगन्ज वृत्तका प्रहरी जवान उत्तम थापाको हत्या आरोपमा पक्राउ परेका काभ्रेका युवराज क्याप्छाकी र 'सोनाम' भनिने बुद्धिलाल तामाङ तथा महाराजगन्ज वृत्तकै असई मिलन रायको हत्या आरोपमा पक्राउ परेका होमप्रसाद पौडेल र टीकाराम विश्वकर्मालाई अदालतको आदेशमा पुर्पक्षका लागि कारागार चलान गरिएको छ । कोटेश्वरका सहायक हवल्दार अमृत गुरूङको हत्या आरोपी अनुपम भण्डारीलाई पनि कारागार पठाइएको छ ।
काठमाडौं जिल्ला सरकारी वकिल कार्यलयले लिएको बयानमा आरोपीहरूले कसुर स्वीकार गरेका छन् । प्रहरी सहायक निरीक्षक मिलन रायका हत्याका आरोपी होमप्रसाद पौडेलले सरकारी वकिल कार्यालयमा दिएको बयानको क्रममा भनेका छन्–- '२०५७ सालको संकटकालमा प्रहरीले मलाई माओवादी भनी दाहिने आँखा फुटाइदिएको थियो । त्यो बेलादेखि नै प्रहरीसँग रिस उठ्थ्यो । त्यसैले भदौ २४ गते प्रहरी सहायक निरीक्षक मिलन रायलाई काठको किलादार चिर्पटले अनुहारसमेत नचिनिने गरी पटकपटक प्रहार गरेर हत्या गरेको हुँ ।'
असई रायको हत्याका अर्का आरोपी टीकाराम विश्वकर्माले पनि मरणासन्न हुने गरी कुटपिट गरेको स्वीकार गरेका छन् । बयानका क्रममा उनले भनेका छन्- 'मैले उपस्थित भिडसँगै मिलेर प्रहरी कार्यालय, सवारी साधन तोडफोड तथा आगजनी गर्ने, हिरासत कक्षभित्र रहेका थुनुवा भगाउने, ड्युटीमा खटिएका प्रहरीलाई नै रड, लाठ्ठी, ढुङ्गा, चिर्पलगायतका जस्ता घरेलु तथा जोखिमपूर्ण हतियार प्रहार गरी कुटपिट गरेको हुँ । कार्यालयभित्र लुकेका प्रहरी कर्मचारीहरुलाई समेत जिउँदै जलाउनसमेत खोजेका हौँ । सोही भीड भएको स्थानमा गएर घाइते अवस्थामा रहेका प्रहरी सहायक निरीक्षक रायलाई पटक-पटक लात्ती प्रहार गरेको हुँ । प्रहरीमाथि अन्दाधुन्ध प्रहार गरी सडकमा नै मरणासन्न अवस्थामा छाडेर फरार भएको हुँ ।'
प्रहरी जवान उत्तम थापाको हत्या आरोपी युवराज क्यापछाकी र बुद्धिलाल तामाङले एकै किसिमको बयान दिएका छन् । उनीहरूले भनेका छन्- प्रहरी जवान उत्तम थापालाई कम्पाउण्डमा लाठी, रड, चिर्पट, ईट्टा-ढुङ्गालगायतका घरेलु तथा जोखिमी हतियारहरू प्रयोग रगताम्ये हुने गरी पटक-पटक कुटपिट गरेको हुँ । थापालाई नाङ्गै बनाएर खुट्टामा तातेर घिसार्दै मुख्य सडकमा ल्याएर पुनः अन्दाधुन्दा ईट्टा ढुंगा, फलामे रडलगायतले पटक-पटक प्रहार गरी मरणासन्न अवस्थामा छाडेर भागेको हुँ ।'
यसैगरी सहायक हवल्दार अमृत गुरुङका हत्या आरोपी अनुपम भण्डारीले आफ्नो बयानमा हत्या स्वीकार गरेका छन् । उनले भनेका छन्– ‘अन्य आन्दोलनकारीसँगै मैलेसमेत प्रहरी सहायक हवल्दार अमृत गुरूङको खुट्टामा समातेर घिसार्दै बाहिर सडकमा ल्याई महादेव मन्दिरतर्फ जाने मुख्य सडकमा पुऱ्याई चक्कुले प्रहार गरेको हुँ । अन्य मानिसहले मुक्का, लौरालगायतका विभिन्न हतियारले प्रहार गरी कुटपिट गर्दा पूर्णरूपमा अचेत पारेपछि घटनास्थलमा नै छोडी त्यहाँबाट भागेर गएको हुँ ।’
प्रहरीको हत्या गरेको आरोपमा पक्राउ परेका ७ जना अहिले पनि प्रहरीको हिरासतमा छन् । गोरखाका सोमबहादुर गुरूङ, तनहुँका राजीव गुरूङ, तनहुँकै युनिक श्रेष्ठ, सर्लाहीका १७ वर्षीय र रामेछापका १६ वर्षीय नाबालकमाथि अनुसन्धान जारी छ । प्रहरी हत्यामा संलग्न रहेको आरोपमा गत सोमबार मात्रै पक्राउ गरेका सिन्धुलीका अलिष श्रेष्ठ र रसुवाका सौरभ तामाङमाथि पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
भदौ २४ गते देशभरी नै प्रहरीसहितका सरकारी तथा निजी भवनमा तोडफोड र आगजनी भएका थिए । ती घटनामा संलग्न रहेको आरोपमा हालसम्म २६५ जनाभन्दा बढी पक्राउ परिसकेका छन् । प्रहरीले हत्या, आगजनी र तोडफोडमा संलग्नहरुको खोजी जारी राखेको छ ।