हिमपहिरोमा परेर सात आरोहीको मृत्यु

कार्तिक १७, २०८२ |केदार शिवाकोटी
हिमपहिरोमा परेर सात आरोहीको मृत्यु

दोलखा । रोल्वालिङ हिमश्रृंखलाअन्तर्गतको यलुङ रि हिमालको बेसक्याम्पनजिकै आएकाे हिमपहिरोमा परेर सात आरोहीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तीन अमेरिकी, एक क्यानडेली र एक इटालियनसहित ५ विदेशी र २ नेपाली रहेको प्रहरीले जनाएको छ ।  हिमपहिरोमा चार जना वेपत्ता तथा चार जना घाइते भएका छन् । 

५ हजार ६ सय ३० मिटर अग्लो यलुङ रि आरोहणका लागि सोमबार बिहान पाँच विदेशीसहित १० नेपाली पथप्रदर्शक त्यसतर्फ गएका थिए । बिहान करिब ८ः३० बजे आरोहणमा सहभागी सबैलाई हिमपहिरोले पुरेको हो । हिमपहिरोमा परेलगत्तै घाइतेले ना गाउँमा रहेका साथीहरूलाई उद्धारका लागि आग्रह गरेका थिए । तर समयमा उद्धार हुन नसकेको आरोहणमा सहभागी घाइतेले बताए ।

उनका अनुसार उनीहरु ६ हजार ३ सय ३४ मिटर उचाइको डोल्मा खाङ हिमाल आरोहणका लागि आएका थिए । त्यसअघि उनीहरूले यलुङ रि चढने तालिका थियो । ना गाउँमा बास बसेर उक्त टोली यलुङ बेसक्याम्प पुगेको हो । 

प्रहरी नायव उपरिक्षक ज्ञानकुमार महतोले उद्धारका लागि लामाबगरबाट नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको बताउनुभयाे । आरोहणमा गएको टोली हिमपहिरोमा परेको ढिलो गरी सूचना आएको उहाँले बताउनुभयाे । 


Image

केदार शिवाकोटी

शिवाकोटी कान्तिपुर टेलिभिजनका दोलखा संवाददाता हुन् ।