लगातारकाे झरीले किसानलाई क्षति : भोकमरी लाग्ने खतरा भएको भन्दै कृषक चिन्तित

कार्तिक १५, २०८२ |कान्तिपुर टीभी संवाददाता
लगातारकाे झरीले किसानलाई क्षति : भोकमरी लाग्ने खतरा भएको भन्दै कृषक चिन्तित

काठमाडौं । गत असोज १८ र १९ गतेको अविरल वर्षा र हावाहुरीका कारण ब्यहोरेको ठूलो क्षतिको पीडा मत्थर हुन नपाउँदै यो साताभर परेको झरीले किसानले थप नोक्सानी ब्यहोर्नुपरेको छ । 

धेरै जिल्लामा भित्र्याउनै आँटेको धान, तरकारी र भर्खरै लगायको हिउँदे बाली सखाप भएपछि किसानहरू ठूलो मर्कामा परेका छन् ।  यहाँको प्रमुख बालीको रूपमा रहेको धानबाली पाकेर पहाेलपुर भएपछि थन्क्याउन लागिएको अवस्थामा अविरल वर्षाले क्षति गरेपछि भोकमरीमा पर्ने अवस्था सृजना हुने भएको छ । 

९ हजार ९ सय ८८ दशमलव ०३ हेक्टर जमिनमा लगाइएको धानबालीलाई वर्षाले क्षति गरेपछि भोकमरी लाग्ने खतरा भएको भन्दै कृषक चिन्तित बनेका हुन् । यस वर्ष रोपाइँ गर्नका लागि समयमा वर्षा भएको थियो । समयमै रोपाइँ भएकाले उत्पादनमा पनि वृद्धि हुने अनमान गरिएको थियो । तर, केही दिनदेखि परेको अविरल वर्षाले ठूलो क्षति गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । 

क्षतिको विवरण जुटाउने काम भइरहेको यसको भनाइ छ । विभिन्न प्रजातिका धान खेती हुँदै आएको जिल्लामा यस वर्ष २५ हजार ६४९ मेट्रिक धान उत्पादन हुने अनुमान गरिएको थियो । अधिकांश कृषकले पाकेर पहेालपुर भएको धानबाली थन्क्याउनका लागि ढालेर खेतमै सुकाएका थिए । 

वर्षभरी उपभोग गर्नका लागि थन्क्याउन ढालेर खेतको आँठामा सुकाइएको धानको पाँजा लगातारको वर्षाले डुबाएको छ । वर्षाले धानबालीमा ठूलो क्षति गरेपनि गहुँ, फलफूल, तरकारीलगायतका हिउँदेबालीलाई केही राहत मिलेको बताइएको छ ।

धान भित्राउने बेला अहिले आएको वर्षातले उदयपुरमा ठुलो मात्रामा क्षति पुर्याएको छ । वर्षभरी खान पुग्ने धान क्षति भएपछि किसान चिन्तामा छन् । विशेष गरी तराई क्षेत्रका खेतीयोग्य जमिन डुवानमा परेका हुन् । गाईघाट, हडिया, बेल्टार, बसाहा, कटारी, चुहाडेलगायतका ठाउँमा डुवानले धान क्षति पुर्याएको हो ।

वर्षात्‌ले जिल्लाभरमा करिब २० प्रतिशत धान डुबाएर क्षति पुर्याएको कृषि ज्ञान केन्द्र उदयपुरको प्रारम्भिक अनुमान छ । खेतीयोग्य जमिन मध्ये ९७ प्रतिशत अर्थात् १३ हजार ८० हेक्टरमा रोपाइँ भएको उदयपुरमा यो वर्षाकै कारण उत्पादनमा ठूलो ह्रास आउने देखिएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.