भारी वर्षापछिको पहिरो र लेदोका कारण देशका आधा दर्जनभन्दा बढी राजमार्ग पूर्णरूपमा बन्द

कार्तिक १४, २०८२ |कान्तिपुर टीभी संवाददाता
भारी वर्षापछिको पहिरो र लेदोका कारण देशका आधा दर्जनभन्दा बढी राजमार्ग पूर्णरूपमा बन्द

काठमाडौं । पछिल्लो समय भएको निरन्तरको वर्षापछिको पहिरोले देशका विभिन्न राजमार्गहरू पूर्ण रूपमा अवरूद्ध भएका छन् । 

लेदो र पहिरोका कारण बीपी राजमार्ग, मेची राजमार्ग, मध्य पहाडी लोकमार्ग, जोमसोम कोरोला सडक, सिद्धिचरण लोकमार्ग, रसुवाको पासाङल्हामु सडक खण्डमा विभिन्न स्थान पूर्ण रूपमा अवरूद्ध भएका हुन् । बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक खण्डको विभिन्न स्थानमा पहिरो र लेदोको कारण सवारी आवागमन पूर्णरूपमा अवरूद्ध भएको हो ।

लगातारको वर्षाका कारण नमोबुद्ध नगरपालिका-६ चौकीडाँडा, रोशी गाउँपालिका-७ बेशी, रोशी-११ डालाबेशी, तथा रोशी-९ बिरूवाडाँडा, बोक्सीकुना र नार्के क्षेत्रमा पर्ने बीपी राजमार्गका विभिन्न खण्डहरूमा माथिबाट लेदो र ढुंगा खस्दा सडक दुबै तर्फी आवागमन पूर्ण रूपमा अवरूद्ध भएको छ । राजमार्गको अवरोध हटाएर सडक सञ्चालन गर्न समय लाग्ने भएकाले पूर्व जाने गाडीहरू काभ्रेपलाञ्चोकको भकुन्डेमा रोकिएका छन् । जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय काभ्रेको टोली घटनास्थलमा पुगेर सडक खोल्ने प्रयास जारी रहेको जनाएको छ ।

उता, अविरल वर्षाले फेरि सडकमा क्षति पुर्‍याउन थालेपछि इलामका दुई मुख्य बाटोहरू बन्द भएका छन। मेची राजमार्गअन्तर्गत राजदुवाली सडक खण्डमा सडक भासिन, चिरिन र दबिन थालेपछि सवारी आवागमन पूर्ण रूपमा रोकिएको इलाम प्रशासनले जनाएको छ। 

त्यस्तै, तिल्केनी-सिमलगोलाई-शिल्पुर सडक खण्ड पनि पहिरोका कारण अवरूद्ध बनेको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ। जिल्ला प्रशासन कार्यालय इलामले सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्म यी दुबै सडक खण्ड हुँदै सवारी सञ्चालनमा पूर्णरूपमा रोक लगाइएको जानकारी गराएको छ।

यसैबीच, मुग्लिन नारायणगढ सडक खण्डअन्तर्गत तुइन खोला पुल नजिकै सामान्य रूपमा ससाना डुङ्गाहरू खस्ने क्रम रोकिएको छैन । सडक डिभिजन भरतपुर मेसिनको प्रयोग गरी स-साना पहिरो पन्छाउँदै सडक आवागमन खुलाइएको जानकारी दिएको छ । वर्षातको समयमा यस क्षेत्रमा पहिरोको उच्च जोखिम भएकाले सडकको अवस्था बुझेर लेन अनुशासनमा रही सुरक्षित यात्रा गर्न कार्यालयले आग्रह गरेको छ ।

यसैगरि बेमौसमी वर्षाका कारण सिन्धुलीको अक्करे भिरमा लेदोसहितको पहिरो खस्दा मध्येपहाडी राजमार्गअन्तर्गत खुर्कोट-घुर्मी खण्ड अवरूद्ध बनेको छ । जसका कारण पूर्वी पहाड आवतजावत गर्ने सवारी साधनहरू अलपत्र परेका छन् । नेपालथोकमा सवारी होल्ड गरिएको छ । उता, वर्षाका कारण सडक बिग्रिएपछि खोटाङ यातायात प्रालिले एकदिनका लागि गाडी बन्द गरेको छ । बेमौसमी वर्षाका कारण सडकमा अवरोध भएपछि प्रालिले कात्तिक १४ गते गाडी बन्द गरेको हो ।

धनकुटाको साँगुरीगढी गाउँपालिका-६ स्थित चारखोले गोलाइमा पहिरोले सडक तानेको छ । उक्तस्थानमा करिब २० मिटर सडक धसिएर पहिरोसँगै झरेको छ । सडक थप भत्कने अवस्था देखिएपछि बस-ट्रकजस्ता ठूला यातायात र ढुवानीका साधन सञ्चालनमा प्रहरीले रोक लगाएको छ । यो सडक भएर धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर र खोटाङलगायत जिल्ला जाने सवारी र ढुवानिका साधन आवतजावत गर्छन् ।

निरन्तरको वर्षापछि बाढी र पहिरो पाँचथर जिल्लालाई विभिन्न स्थानसँग जोड्ने मुख्य चारवटा सडक अवरूद्व भएका छन । तराइका झापा, मोरङ र सुनसरीसँगै छिमेकी जिल्लासँग जोडिने मुख्य सडक अवरूद्व हुँदा जनजीवन प्रभावित भएको छ । सदरमुकाम फिदिमलाई फालेलुङ गाउँपालिका हुँदै छिमेकी मुलुक भारतको सिमावर्ती पश्चिम बंगालसम्म जोड्ने फिदिम फालौट सडक खण्ड रातिदेखि अवरूद्व छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.