
काभ्रे । काभ्रेपलाञ्चोकमा भदाै २३ र २४ गते जेन-जी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटका घटनामा संलग्न सात जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार आन्दोलनका क्रममा सरकारी तथा प्रहरी कार्यालय भवनहरूमा क्षति पुर्याउने, सार्वजनिक सम्पत्तिमा तोडफोड गर्ने र लुटपाटमा संलग्न रहेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको हो। मातहत प्रहरी इकाई र जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकको संयुक्त टोलीले पक्राउ गरेका ती सात जनालाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरूमा पनौती नगरपालिका-२ का २८ वर्षीय अनिश सापकोटा, २५ वर्षीय सुमन केसी, २४ वर्षीय सुवास तामाङ, बनेपा नगरपालिका-१० का २१ वर्षीय साकार केसी, बेथानचोक गाउँपालिका-६ का १९ वर्षीय समिर तामाङ, बेथानचोक गाउँपालिका-३ का ३२ वर्षीय चिउरे भनिने (होमप्रसाद तिमिल्सिना) पनौती वडा न २ को बर्ष २४ का स्याजु भनिने सुबास तामाङ र महाभारत गाउँपालिका-३ का २३ वर्षीय डेमासाङ मुक्तान रहेका छन्।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये अनिश सापकोटा र होम प्रसाद तिमिल्सिनामाथि यसअघि पनि अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता भइसकेको थियो भने स्याजी भनिने सुवास तामाङमाथि चोरीसम्बन्धी तीन पटक मुद्दा दर्ता भइसकेको छ। जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन बिष्टका अनुसार पक्राउ परेकाहरूमाथि अदालतको अनुमति लिएर आवश्यक अनुसन्धान भइरहेको छ।
जिल्ला भर १८ स्थानमा गत भाद्रमा प्रदर्शनका क्रममा प्रहरी चौकी, नगरपालिका , जनप्रतिनिधीको घर समेत तोड्फोड र आगजानी भएको थियो ।