
काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफू निकटका नेताहरूसँग छुट्टै छलफल गर्नुभएको छ ।
केन्द्रीय समिति बैठकको अघिल्लो दिन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफू निकटका नेताहरूसँग ललितपुरको धोवीघाटस्थित सिद्धार्थ कटेजमा बोलाएर आगामी रणनीतिबारे छलफल गर्नुभएको हो । बैठकमा सहभागी संस्थापन पक्षीय पदाधिकारी, पूर्वपदाधिकारीसहित नेताहरुले बैठकमा संस्थापन पक्षीय बहुसंख्यकले प्रतिनिधिसभाको चुनावपछि मात्रै महाधिवेशन हुनुपर्ने धारणा राखेका छन् ।
सभापति शेरबहादुर देउवाले खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएपछि निरन्तर गुट भेला राख्दै आउनुभएको छ । उक्त छलफलले पार्टी अब महाधिवेशनभन्दा अगामी २१ फागुनमा तोकिएको चुनावमा केन्द्रित हुनुपर्ने निष्कर्ष निकालेको बताइएको छ ।
बैठकमा सहभागीहरूले क्रियाशील सदस्यताको टुंगो लगाउने मूल जिम्मेवारी लिएका महामन्त्री गगन थापाले आफ्नो कार्य नसक्ने तर महाधिवेशनको रटान लगाएको आरोप लगाएका थिए । क्रियाशील सदस्यताको टुंगो नलागेको कारण नियमित महाधिवेशन चुनाव अघि हुनै नसक्ने धारणा नेताहरूको थियो ।
महामन्त्री थापा र विश्वप्रकाश शर्माले मंसिरमा नियमित नभए विशेष महाधिवेशन गर्नुपर्ने अडान राख्दै आउनुभएको छ । २८ असोजदेखि सुरू भएर दशैं तिहार र छठका कारण रोकिएको केन्द्रीय समितिको बैठक बिहीबारदेखि पुन: सुरु हुँदैछ । महामन्त्री थापा र विश्वप्रकाश शर्माले बैठकमा नियमितको महाधिवेशनको कार्यतालिका प्रस्तुत गर्ने पक्षमा छन् । चुनाव अघि महाधिवेशन हुन नसक्ने अडान रहेको संस्थापन पक्ष काउन्टर दिने रणनीतिका बनाउन निरन्तर छलफल गरिरहेका छ ।