जेन-जीका नाममा २५ वटा समूह सक्रिय

कार्तिक ६, २०८२ |अञ्जना लामिछाने
जेन-जीका नाममा २५ वटा समूह सक्रिय

काठमाडौं । राज्यको गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागले गरेको अध्ययनले जेन-जीका नाममा २५ वटा समूह सक्रिय रहेको देखाएको छ । जेन–जी आन्दोलन सफल भएपछि जेन–जीका नाममा विभिन्न समूह गठन गर्ने क्रम बढेको हो । कतिसम्म भने जेन–जीकै नाममा एकीकृत भएका केही समूह त लुटपाट र ठगीमा समेत संलग्न रहेको विभागले गरेको अध्ययनले देखाएको छ । त्यसैगरी जेन–जीकै नाममा संविधान विरोधी र राजतन्त्र पुनर्स्थापनासम्मका गतिविधि गर्ने समूहसमेत देखा परेका छन् । अनुसन्धान विभागले जेन–जीका नाममा हुन सक्ने असंवैधानिक र गैरकानुनी कृयाकलाप रोक्न त्यस्ता समूहको पहिचान गरी राज्यका निकायलाई सक्रिय बनाउनसमेत सुझाव दिएको छ ।

जेन–जीका नाममा सरकारी तथा सार्वजनिक निकायका कर्मचारीलाई धम्क्याएर राजीनामा माग्ने, दुर्व्यवहार गर्ने तथा व्यापारी र व्यवसायीसँग चन्दा माग गर्दै सेयर हत्याउनेलगायतका गतिविधि हुने गरेको पाइएपछि राष्ट्रिय अनुसन्धान विभागले अध्ययन गरेको थियो । त्यस क्रममा जेन–जीका २५ वटा समूह सक्रिय भएको देखिएको हो । तीमध्ये धेरैजसो राजनीतिक गतिविधि गर्ने संगठन भए पनि कतिपय समूह जेन–जीका नाममा अराजकता मच्चाउन सक्रिय रहेको विभागले जनाएको छ । अहिले विभागले सबै समूहहरुको पहिचान गरेर उनीहरुका क्रियाकलापको निगरानी गरिरहेको छ । गत शनिबार राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्की सहित ४ वटै सुरक्षा निकाय प्रमुखहरुको छलफलमा समेत यो विषयमा छलफल भएको थियो । त्यस क्रममा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्कीले जेन-जीका नाममा अहिलेसम्म २५ समूह सक्रिय रहेको ब्रिफिङ गर्नुभएको थियो ।

जेन–जीका नाममा खुलेका केही समूहले फेसबुक, ह्वाट्सएपलगायतका सामाजिक सञ्जालमा समूह बनाएर आफ्ना गतिवधि गरिरहेका छन् । फरक-फरक गतिविधि गर्नेको पहिचान खुल्दै गएको छ । त्यस्ता समूहलाई सरकारी निकायले समूहकृत गरिरहेको छ । पहिचान भएकाहरुको प्रकृति राजनीति, मानव कल्याणकारी काम गर्नेदेखि लुटपाट र अराजकता मच्चाउनेसम्मका पाइएको छ । केही समूह अहिलेको सरकारको पूर्ण समर्थनमा छन् । ती समूह फागुन २१ मा चुनाव गराउनका लागि सरकारलाई सहयोग गरिरहेका छन् ।

त्यसैगरी पहिचान भएको एउटा अहिलेको व्यवस्था नै हटाएर राजा ल्याउन सक्रिय छ । अर्को समूह शासकीय स्वरुप नै परिवर्तन गर्न लबिइङमा लागेको छ । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति भन्ने समूह पनि फरकफरक छन् । त्यस्तै एउटा समूहले अन्तरिम संविधान जारी गर्नुपर्ने माग गर्दै आएको छ ।

जेन–जीकै केही समूह भने सरकारमा आफ्नो सहभागिता खोजिरहेका छन् । कोही मन्त्री बन्ने र कोही बनाउने दौडधूपमा छन् । विभागले गरेको अनुसन्धानमा जेन–जीकै नाममा खुलेका केही समूह सुरक्षा चुनौति बढाउने खेलमा सक्रिय रहेको देखिएको छ ।

आगामी दिनमा जेन–जीले गर्ने शान्तिपूर्ण प्रदर्शनमा घुसपैठ गर्न खोज्ने एउटा समूहले पनि सक्रिय देखिएको छ । अहिले राज्यका निकायहरुले सार्वजनिक निकायका पदाधिकारीलाई धम्क्याउने, व्यापारीबाट असुल्नेलगायतका गतिविधिमा संलग्न समूहको खोजी गरिरहेको छ । पछिल्लो समय त्यस्ता गतिविधिमा संलग्न केहीलाई प्रहरीले पक्राउसमेत गरेको छ ।

भदौ २३ र २४ गतेको आन्दोलनपछि जेन-जीका नाममा यस्ता धेरै समूह जन्मिएका छन् । सरकारमाथि दबाब बढाउन जेन–जीका नाममा खुलेका संगठनहरु कहिले सिंहदरबार त कहिले राष्ट्रपति कार्यालयसम्म पुगेर आफू अनुकूलका माग राखिरहेका छन् । कुन समूहलाई मान्यता दिने र कसका कुरा सुन्ने भनेर सरकारसमेत अलमलमा छ । कतिसम्म भने आफ्ना माग पुरा नभए सरकार नै ढाल्ने चेतावनीसमेत केहीले दिँदै आएका छन् । त्यहीकारण सरकारले जेन–जीका त्यस्ता समुहको पहिचान गर्न आफ्ना निकायहरुलाई सकृय बनाएको हो । जेन-जी समूहको पहिचान गर्न नसक्दा मन्त्रिपरिषद् थप विस्तारमा समेत प्रधानमन्त्री सुशीला कार्कीलाई सकस परेको छ ।

भिडियो रिपोर्ट :


Image

अञ्जना लामिछाने

लामिछाने कान्तिपुर टेलिभिजनकी संवाददाता हुन् ।