जेन-जी अभियन्ता सुदन गुरुङले जेन-जीलाई विभाजन गर्न खोजिएको आरोप लगाउनुभएको छ। बिहिबार माइतीघरमा भेला भएका युवाहरुलाई सम्बोधन गर्दै गुरुङ्ले जेन-जी पुस्तालाई एकताबध्द हुन आह्वान गर्नुभएको हो।
कहिले सक्कली र कहिले नक्कली भन्दै जेन-जीलाई बदनाम गर्न खोजिएको भन्दै नेताहरुले अहिलेसम्म देश बिगारेको र अहिले फेरि युवाहरुलाई विभाजन ल्याएर खेल्ने प्रयास गरिरहेको उहाँको भनाइ थियो।
'हामीलाई विभाजित गरेर बरु एमाले नै ठिक, कांग्रेस नै ठिक भन्ने बनाउन खोजेका छन्,' गुरुङले त्यसको प्रतिरोध गर्नुपर्ने जिकिर गर्नुभयो।
गुरुङले अहिले आन्दोलनमा मारिएकाहरुलाई न्याय दिने कुरा भुल्न थालिएको आरोप लगाउनुभयो। 'सिंहदरबार बरु हजारवटा बनाउन सकिन्छ तर आमाहरुको रित्तिएको कोख भर्न सकिँदैन,' भन्दै गुरुङ्ले पहिले आन्दोलनमा दमन गर्नेहरुमाथि कारबाही गर्नुपर्ने र त्यसपछि सरकारी सम्पत्ति नष्ट गर्नेहरुमाथि कारबाही चलाउनुपर्ने तर्क गर्नुभयो ।
'अहिले हामीले गोली हान्ने मान्छेहरुबारे कुरा गर्नुपर्ने होइन ? त्यो कुरा गरौं। प्राथमिकता त्यता दिनुपर्ने होइन ? त्यसपछि सिंहदरबार जलाउनेलाई पनि समातौं,' गुरुङले भन्नुभयो।
अबको ६ महिनाभित्र देश बनाएर देखाउन उहाँले युवाहरुलाई आह्वान पनि गर्नुभयो।