काठमाडौं । प्यालेस्टिनी लडाकु समूह हमासको बन्धकमा परेका कञ्चनपुरका विपिन जोशी अब कहिल्यै घर फर्किने छैनन् ।
विपिनको मृत्यु भएको पुष्टि भइसकेको छ । हमासले इजरायललाई शव हस्तान्तरण गरेपछि गरिएको डीएनए परीक्षणबाट विपिनको शवको पहिचान भएको हो । शव विपिनकै रहेको पुष्टि भएसँगै शोकमा डुबेको जोशी परिवार शव नेपाल आउने प्रतीक्षामा छ । इजरायली अधिकारीहरूले दिएको जानकारी अनुसार आइतबार मात्रै विपिनको शव नेपाल पठाउने तयारी भइरहेको छ ।
शव परीक्षणबाट डिएनए मिलेसँगै उक्त शव विपिनकै रहेको पुष्टि भएको पीडादायी खबर विपिनकी आमा पद्मा जोशीलाई अहिलेसम्म सुनाइएको छैन । संवेदनशीलताको कारण उहाँले चलाउने मोबाइल र सामाजिक सञ्जालहरू बन्द गरिएका छन् ।
सहन सक्नुहुन्न भन्ने लागेर शव नेपाल नपुगुञ्जेल आमा र हजुरआमालाई पनि उक्त अप्रिय खबर थाहा दिइएको छैन । अहिले पनि आमा र हजुरआमा बेखबर हुनुहुन्छ भने परिवारका अन्य सदस्य पीडालाई भित्रभित्रै गुम्स्याएर विपिनको शव कहिले नेपाल पुग्छ भन्ने प्रतीक्षामा हुनुहुन्छ ।
घरमा भेटघाट गर्न र समवेदना दिन आउने हरेक व्यक्तिहरूलाई तत्काल धेरै कुरा नखोल्न अनुरोध गरिँदै आइएको छ । शव नेपाल पुग्ने मिति निश्चित भएपछि वा शव घरमा पुग्ने बेला मात्रै सबै कुरा खोल्ने बताइएको छ । विपिनका बुबा महानन्द जोशी खबर सुनेदेखि मौन हुनुहुन्छ । उहाँले एक शब्द पनि बोल्न सक्नु भएको छैन ।
विपिनकी आमा पद्मा र बहिनी पुष्पा विपिनको रिहाइका लागि साउन अन्तिमसाता इजरायल र असोज दोस्रो साता अमेरिका पुग्नु भएको थियोे । संयुक्त राष्ट्रसंघका अधिकारीदेखि इजरायली नेतासम्मलाई भेटे पनि अन्ततः उहाँहरू पीडामात्रै बोकेर घर फर्किन बाध्य हुनुभयो ।
सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायमा अध्ययनरत विपिन जोशी ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेको एक महिनाभित्रै सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणमा बन्धक बन्नु भएको थियो । त्यही आक्रमणमा १० नेपाली विद्यार्थीको ज्यान गएको थियो, जबकि विपिन लामो समयसम्म अज्ञात अवस्थामै हुनुहुन्थ्यो ।
दुई वर्षसम्म रातदिन विपिन फर्किने प्रतीक्षामा बसेको जोशी परिवार अब विपिनको शव कहिले आइपुग्छ ? भन्ने प्रतीक्षामा छ ।