सरकारले तोकेको समयमै निर्वाचन सफल पार्नु सबैको दायित्व भएको सेनाकाे भनाइ

आश्विन ३१, २०८२ |कान्तिपुर टीभी संवाददाता
सरकारले तोकेको समयमै निर्वाचन सफल पार्नु सबैको दायित्व भएको सेनाकाे भनाइ

काठमाडौं । नेपाली सेनाले सरकारले तोकेको समयमै निर्वाचन सफल पार्नु सबैको दायित्व भएको बताएको छ । 

सेनाले जेन-जीको आन्दोलनका बेला ६१ जना भीआईपीको हवाई उद्धार गरिएको समेत स्पष्ट पारेको छ । जेन-जी आन्दोलनमा भएको भौतिक र मानवीय क्षतिबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सहायक रथी मनोज थापाले आन्दोलन र उत्पन्न परिस्थितिका क्रममा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमण गर्ने उद्देश्यसहित केही व्यक्ति जिलेटिन लिएर पुगेकोमा आफूहरुले रोकेको पनि बताउनुभयो । 

उहाँले परिस्थिति सम्हालिएको र अब चुनाव सफल बनाउन सबै एकजुट हुनुपर्ने बताउनुभयो । त्यसैगरी जेन-जी आन्दोलनमा ६१ भीआईपीको हवाई उद्धार गरिएको समेत सेनाले जानकारी दिएको छ । सिंहदरबारको आगो निभाउन केही समयभित्रै प्रयास थालिएको पनि सेनाले दाबी गरेको छ ।

सेनाले आन्दोलनबाट सिर्जित अवस्थाका कारण सुरक्षाकर्मीबाट ९ सय ७८ हातहतियार लुटिएको र त्यसमध्ये ५ सय ८६ हतियार मात्र बरामद र फिर्ता भएको जनाएको छ । यस्तै १५ हजार ५ सय ८८ कैदीबन्दी फरार भएकामा ८ हजार ७ सय ९९ जना पक्राउ र फिर्ता भएका छन् । 

जेन-जीको प्रदर्शन र त्यसपछिका घटनाक्रममा ७६ जनाको ज्यान गएकामा २२ प्रदर्शनकारी, ३ प्रहरी, १० कैदी र अन्य ४१ जना रहेको सेनाले जनाएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.