दाङको पहाडी क्षेत्रमा पाइने चिउरी आम्दानीको राम्रो स्रोत बन्दै

असार साउनमा संकलन गरेको चिउरीको घ्यू प्रतिकिलो ३ सयमा बिक्री
आश्विन ३१, २०८२ |अमर क्षितिज भण्डारी
दाङको पहाडी क्षेत्रमा पाइने चिउरी आम्दानीको राम्रो स्रोत बन्दै

दाङ । दाङको पहाडी क्षेत्रमा पाइने चिउरी स्थानीय नागरिकको आम्दानीको राम्रो स्रोत बनेको छ । 

वनमा पाइने चिउरीको बीउ संकलन गरी त्यसलाई पेलेर घ्यू निकालिन्छ । यो घ्यू घरमा मात्रै खपत नभई बेचेर आम्दानी गर्नेहरू धेरै छन् । असार साउनमा संकलन गरेको चिउरी अहिले काठको परम्परागत कोलमा पेलेर निकालेको घ्यू प्रतिकिलो ३ सय रुपैयाँमा बिक्नेगरेको छ ।

तिहार नजिकिएसँगै दाङको पहाडी क्षेत्रमा प्रसस्तै पाइने बहुउपयोगी बनस्पती चिउरी पेल्ने र घ्यू निकाल्दै गरेका दृष्य गाउँगाउँमा देखिन्छ । खानका लागि निक्कै मिठो हुने यो फल जेठ असारदेखि नै पाक्छ । बर्खामा संकलन गरिएको त्यही चिउरीको गेडा पेलेर अहिले घ्यूको रूपमा प्रयोग हुँदै आएको छ । 

तिहारमा रोटी पकाउने घ्यूको जोहो गर्न आज-भोलि पहाडी क्षेत्रका गाउँगाउँमा परम्परागत काठको कोलमा चिउरी पेल्नेहरूको भिड देखिन्छ । वनमा यत्तिकै खेर गइरहेको फललाई सफा गरेर घाममा सुकाइन्छ र ढिकीमा कुटेर मसिनो पारिन्छ । 

यसरी कुटेको धुलोलाई उसिनेर पेल्नका लागि काठे कोलमा हालेर पेली घ्यू निकालिन्छ । बजारको महङ्गो घ्यू किन्नुभन्दा पैसा खर्चिनु नपर्ने र बिक्री गरेर आम्दानी पनि हुने भएपछि गाउालेहरू यसतर्फ लागेका हुन् । उनीहरूले आफूलाई बढी भएको घ्यू १ धार्नी अर्थात् साढे दुई किलोलाई ८ सय रूपैयाँका दरले बिक्री गर्दै आएका छन् ।

धेरै क्षेत्रहरूमा आधुनिक उपकरणको प्रयोग भैरहादा यहाँका बासिन्दा भने अझै पनि परमपरागत काठेकोलमै चिउरी पेलेर घ्यू निकाल्छन् । परम्परागत कोलबाट घ्यू निकाल्दा जनशक्ती र समय धेरै लाग्ने भएकाले नयाँ प्रबिधि भैदिए सजिलो हुने भनाइ छ स्थानिय बासिन्दाको छ ।

जिल्लामा कति परिमाणमा चिउरी संकलन गरिन्छ र वार्षिक कति घ्यू निकालिन्छ भन्ने आधिकारीक तथ्याङ्क कतै छैन । जिल्लाको २ लाख ९५ हजार ५ सय हेक्टर कुल क्षेत्रफलमध्ये ५८ दशमलव ५७ प्रतिशत अर्थात् ८८ हजार ४ सय १७ हेक्टर वन क्षेत्र छ । 

वन क्षेत्रको १० प्रतिशत अर्थात् ८ हजार हेक्टर वन क्षेत्रमा चिउरी पाइन्छ । स्थानीय नागरिकको आम्दानीसँग प्रत्यक्ष जोडिएको बहुउपयोगी फल चिउरी प्रवर्द्धनका लागि सरकारी क्षेत्रबाट वन कार्यालय तथा सामुदायिक वनहरूले पनि काम गरीरहेको बताएका छन् । 

चिउरीको घ्यू हात खुट्टा फुटेको ठाउँमा लगाउँदा निको हुन्छ । वनमा खेर गइरहेको यो फललाई व्यवस्थित तवरले संकलन र प्रशोधन गरी घ्यू उत्पादन गर्न सके यहाँका नागरिकहरूको आर्थिक स्थिति उकास्न थप सहयोगी हुने देखिन्छ ।


Image

अमर क्षितिज भण्डारी

भण्डारी कान्तिपुर टेलिभिजनका दाङ सहकर्मी हुन् ।