काठमाडौं । पोखराको लिची बगान जग्गा घोटाला प्रकरणमा दुई पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज नेकपा एमाले नेता गुप्ता र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष श्रेष्ठसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले मालपोत कार्यालय कास्की पोखराका तत्कालीन प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारी, बिचौलिया सुजनकुमार तामाङ, खमबहादुर पुन, यामकुमारी गुरुङ र तुलसीराम बुढामगरलाई प्रतिवादी बनाएको छ । अख्तियारले खेम पुनसँग २५ लाख र रामचन्द्र अधिकारीसँग ५३ लाख बिगो माग दाबी गरेको छ । अन्य ५ जनासँग जनही ७८ लाख रुपैयाँ बिगो माग दाबी गरिएको छ ।
जग्गा हिनामिना गर्ने योजनामा भएको घूस डिल प्रकरणमा पूर्वमन्त्रीद्वय र बिचौलियासहितका व्यक्तिको अडियो सार्वजनिक भएपछि यो प्रकरणमा मुद्दा अघि बढेको थियो । यही प्रकरणमा अर्का पूर्वमन्त्री एवम् एमाले नेता बलराम अधिकारीविरुद्ध पूरक अनुसन्धान जारी रहेको अख्तियार स्रोतले जनाएको छ ।
कास्कीको पोखरा बाटुलेचौरस्थित 'लिची बगान' को १ सय ३४ रोपनी जग्गा हडप्ने प्रपञ्चमा तत्कालीन मन्त्रीहरूसहित कर्मचारी र बिचौलियाको अडियो सार्वजनिक भएको थियो । त्यसपछि अख्तियारले पूर्वमन्त्रीसहित बिचौलियाको बयान लिएको थियो । घूस डिलको अडियो सार्वजनिक भएपछि तत्कालीन सामान्य प्रशासनमन्त्री गुप्ताले राजीनामा दिनुभएको थियो ।