काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले सरकारलाई शान्ति सुरक्षा बलियो बनाउन र सबै पक्षलाई संयमित रहन आग्रह गरेको छ ।
आयोगले आज विज्ञप्ति जारी गर्दै विकसित परिस्थितिमा शान्ति सुरक्षा र विधिको शासनलाई मजबुद बनाउन सुरक्षा निकायको मनोबल उच्च बनाउँदै धैर्यता र संयमतापूर्वक आवश्यक कदम चाल्न सरकारलाई निर्देशन दिएको छ । यसैगरी हिंसात्मक गतिविधि र घृणायुक्त अभिव्यक्ति नदिन पनि आयोगले सबै पक्षलाई आग्रह गरेको हो ।
आयोगले हिंसात्मक गतिविधि, अरुप्रति लक्षित नकारात्मक टीकाटिप्पणी र घृणायुक्त अभिव्यक्तिले सामाजिक सद्भाव खल्बलिने र राजनीतिक वातावरणसमेत धुमिल हुने भएकाले यसबाट शान्तिसुरक्षा र विधिको शासनमाथि नै प्रतिकूल असर पर्न जाने जनाएको छ । आयोगका प्रवक्ता टीकाप्रसाद पोखरेलले जारी गरेको विज्ञप्तिमा 'सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिको संरक्षण गर्नु, विधिको शासन कायम गर्नु, सामाजिक सद्भाव कायम राख्दै जनमतमा आधारित स्वच्छ राजनीतिक प्रतिस्पर्धामार्फत वर्तमान संक्रमणकालीन अवस्थालाई निकास दिनु राज्यका सम्बन्धित निकायको दायित्व र त्यस्तो प्रक्रियालाई सघाउनु आमनागरिकको समेत कर्तव्य हुन जाने’ उल्लेख छ ।
विज्ञप्तिमा गत भदौ २३ र २४ गते भएको हिंसात्मक कार्य र आगजनीमा भएको मानवअधिकार उल्लंघनको घटनाको अनुसन्धानलाई आयोगले तीव्रता दिइएको उल्लेख छ ।