पहिरो हटाइएपछि कान्ति-लोकपथ पुनः सञ्चालनमा, चार सयभन्दा बढी सवारी गन्तव्यतर्फ

आश्विन २०, २०८२ |बालकृष्ण अधिकारी
पहिरो हटाइएपछि कान्ति-लोकपथ पुनः सञ्चालनमा, चार सयभन्दा बढी सवारी गन्तव्यतर्फ

मकवानपुर । पहिरोका कारण अवरूद्ध बनेको कान्ति-लोकपथ सञ्चालनमा आएको छ। बकैया गाउँपालिका-११ स्थित घट्टेपाखामा आएको ठूलो पहिरो हटाएपछि सडक पुनः सुचारू गरिएको हो।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठका अनुसार, पहिरोका कारण बाटोमै अलपत्र परेका यात्रुहरूलाई गन्तव्यतर्फ पठाइएको छ। करिब चार घन्टाको प्रयासपछि ठुलो पहिरो हटाइएर बाटो खुलाइएको हो।

कान्ति-लोकपथ परियोजनाले एकवटा डोजर, दुईवटा एक्साभेटर र एकवटा ह्विल एक्साभेटर प्रयाेग गरेर पहिरो पन्छाएको हो ।। सडक खुलेसँगै करिब ४ सय सवारी साधनहरू गन्तव्यतर्फ लागेका छन्।

यद्यपि सडक सञ्चालनमा आए पनि सो क्षेत्रमा अझै पहिरोको जोखिम कायमै रहेको अधिकारीहरूले जनाएका छन्। सडक सञ्चालनमा ल्याउन प्रमुख जिल्ला अधिकारी श्रेष्ठसहित सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र सिभिल सेवा लगायत चारवटै सुरक्षा निकायका प्रमुखहरू तथा कान्ति-लोकपथ आयोजनाका साजन न्यौपाने दिनभर घट्टेपाखामा खटिएका थिए।


Image

बालकृष्ण अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका मकवानपुर संवाददाता हुन् ।