इलाममा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या ३७ पुगेको, एक बेपत्ता

आश्विन १९, २०८२ |विप्लव भट्टराई
 इलाममा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या ३७ पुगेको, एक बेपत्ता

इलाम । इलाममा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या ३७ पुगेको छ । 

शनिबार राति इलामको विभिन्न स्थानमा गएको पहिरोमा परी ३७ जनाको मृत्यु र १ जना बेपत्ता भएको इलामका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले कान्तिपुर समाचारलाई बताउनुभयो ।

इलाम नगरपालिका घोसमा मात्रै ६ जनाको ज्यान गएको छ । यस्तै, देउमाई नगरपालिका धुसेनीमा २, धारेमा १, सन्दकपुर गाउँपालिका छाँगेमा १, माइजोगमाई गाउँपालिका प्याङमा ४, माङसेबुङ गाउँपालिका पाटीगाउँमा ३, फाकफोकथुम गाउँपालिका रातमाटेमा १ र सूर्योदय मानेभञ्ज्याङमा ५ जनाको ज्यान गएको सम्बन्धित पालिकाका जनप्रतिनिधि र स्थानीयले बताएका छन् । 

सन्दकपुर गाउँपालिका, सुलुबुङमा एकको मृत्यु भएको छ । त्यस्तै, माङ्सेबुङ गाउँपालिकामा २ जना गम्भीर घाइते भएका छन् । प्रमुख जिल्ल अधिकारी नेपालका अनुसार पहिरोले दर्जनौं घरमा क्षति पुर्‍याएको छ । यसैबीच, बाढी र पहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय, इलामले सवारीसाधन सञ्चालनमा रोक लगाएको छ । 

 प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले सूचना जारी गर्दै आइतबार बिहान ६ बजेदेखि सोमबार बिहान ७ बजेसम्मका लागि अत्यावश्यकबाहेक सवारीसाधन सञ्चालनमा रोक लगाइएको बताउनुभएको हो । ‘राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचना समेतका आधारमा इलाम जिल्ला अझै उच्च जोखिममा रहेको हुँदा सम्भावित विपद्जन्य अवस्थाबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न अर्को सूचना जारी नभएकासम्मका लागि’ भन्दै भोलि बिहान ७ बजेसम्मलाई लामो तथा छोटो दुरीका सवारीसाधन सञ्चालनमा पूर्णतः रोक लगाइएको भनिएको छ ।


Image

विप्लव भट्टराई

भट्टराई कान्तिपुर टेलिभिजनका इलाम संवाददाता हुन् ।