कञ्चनपुर । बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशमा अति भारी वर्षा भइरहदाँ सुदूरपश्चिम प्रदेशका किसान भने धान काट्ने कि नकाट्ने भन्ने दोधारमा छन् ।
सुदूरपश्चिम तराईका खेतबारीमा यस वर्ष धान पाकेर काट्ने बेला भइसकेको छ । तर, देशका अधिकांश भागमा मनसुन सक्रिय हुँदा यहाँका किसान धान भित्र्याउन नपाइने हो कि भन्ने चिन्ता बढेको छ । तराईका फाँटहरूमा सुनौला धानका बाला झुलिसकेका छन् ।
धान पाकेर काट्न तयार भए पनि किसानको मनमा भने अनिश्चितताको बादल मडारिएको छ । मौसमविद्हरूका अनुसार नेपालमा मनसुन अझै केही दिन सक्रिय रहने छ । त्यसैले किसानले धान काट्ने निर्णय लिन अझै सजिलो भएको छैन ।
कतिपय किसानहरू पहिले नै काटेको धान सुरक्षित राख्नमा व्यस्त देखिनुहुन्छ । तर अझै धेरै किसानहरू भने पाकेको बाली काटिहाल्ने वा खेतमै बाली जोगाउने भन्ने दोधारमा हुनुहुन्छ । वेदकोटका लोकेन्द्र प्रसाद लामिछाने र शारदा लामिछानेले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा मेसिनबाट छरुवा धान लगाउनु भएको छ ।
उहाँहरूको खेतमा पनि धानका बाला राम्रै सप्रेका देखिन्छन् । जुन अरू किसानका लागि पनि सिकाइ बन्न सक्छ । धान पाकेर काट्न तयार भए पनि वर्षाको अनिश्चितताले किसानलाई ठूलो जोखिममा पारेको छ । पाकेको धान काट्ने कि खेतमै छोड्ने ? यो प्रश्नले अहिले धान उत्पादक किसानहरूलाई नै अल्झाइरहेको छ ।