शनिबार १ बजेसम्म पर्साको वीरगञ्जमा ११० मिलिमिटर वर्षा, शतर्क रहन आग्रह

आश्विन १८, २०८२ |कान्तिपुर टीभी संवाददाता
शनिबार १ बजेसम्म पर्साको वीरगञ्जमा ११० मिलिमिटर वर्षा, शतर्क रहन आग्रह

काठमाडौं । वरिष्ठ जलविज्ञान विज्ञ विनोद पराजुलीले शनिबार १ बजेसम्म पर्सा जिल्लाको वीरगञ्जमा ११० मिलिमिटर वर्षा भएको बताउनुभएको छ ।

शनिबार सिंहदरबारमा सञ्चारकर्मीहरूलाई अहिलेको अवस्थाबारे जानकारी दिँदै यस्तो बताउनुभएको हो । बाराको कलैयामा पनि १ सय मिलिमिटर वर्षा मापन भएको उहाँले बताउनु भयो । आसपासका केन्द्रहरूमा रौतहट, सर्लाही, मकवानपुर लगायतका जिल्लामा पनि ७५ मिलिमिटर भन्दा बढी वर्षा मापन भइसकेको उहाँले जानकारी दिनुभयो । 

तीन दिनको दौरानमा करिब-करिब ४ सय मिलिमिटरसम्म वर्षा हुने प्रक्षेपण गरिएको र सोही अनुपातमा वर्षा जारी रहेको उहाँले बताउनु भयो । आइतबार बेलुकासम्म मध्य क्षेत्रमा वर्षा निरन्तर जारी रहने र सोमबार बिहानसम्मै पूर्वी क्षेत्रमा वर्षा हुने बताउनु भयो । खोलाहरूमा पानीको बहाव बढ्दै गएको भन्दै रेड अलर्ट जारी गरिएको उहाँले जानकारी दिनुभयाे ।

उहाँले कमला नदी जलाधारको क्षेत्रमा पनि शतर्कता तह पार गर्ने देखिएको, पूर्वराप्ती नदी जलाधार क्षेत्रमा पनि बाढीको जोखिम रहेको बताउनु भयो । १२ घण्टामा सय मिलिमिटर वर्षा भइसकेको उहाँले बताउनु भयो । प्रतिघण्टा २५-३० मिलिमिटर वर्षा भइरहेको उहाँले जानकारी दिनुभयाे । साथै रातिको समयमा र आइतबार जाखिम अत्याधिक रहेको उहाँले बताउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.