
काठमाडौं । सरकारले अत्यावश्यक परिस्थितिका कारण यातायात बन्द गर्नुपरेको बताएको छ ।
शनिबारदेखि सोमबारसम्म देशभर अत्याधिक वर्षा हुने र वर्षापछि बाढी, पहिरोको जोखिम रहने भएकाले सुरक्षित ठाउँमा बस्न र यात्रा नगरिदिन सरकारले आग्रह गरेको हो । राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले अत्यावश्यक परिस्थितिका कारण यातायात बन्द गर्नुपर्दा दुःख लागे पनि नागरिकको सुरक्षाका लागि बन्द गर्नुपर्ने अवस्था आएको बताउनु भयो ।
स्थानीय प्रशासनलाई यात्राका क्रममा रहेका सवारीसाधनहरू सुरक्षित स्थानमा रोक्न लगाउन निर्देशन गरिसकेको उहाँले बताउनु भयो । पिउने पानी, खानेकुरा, शौचालय भएको ठाउँमा र बाढी र पहिरोको जोखिम नभएको ठाउँमा गाडी रोक्न आग्रह गरिएको उहाँले बताउनु भयो । सम्भावित जोखिम कम हुने बित्तिकै अर्को ठाउँमा पास गर्ने तयारी रहेको उहाँकाे भनाइ छ ।
उहाँले भन्नुभयो, ‘दशैँको बीचमा यातायात बन्द गर्न पर्दा हामीलाई पन दुःख लागेको छ । तर अत्यावश्यक परिस्थितिका कारण यो गरिएको हो । सँगै स्थानीय प्रशासनलाई यसरी गाडी रोक्नुपरेको परिस्थिति आएको बेला सुरक्षित ठाउँमा गाडी रोक्नुहोस् । सकेसम्म पिउने पानी, खानेकुरा, शौचालय भएको ठाउँमा र बाढी र पहिरोको जोखिम नभएको ठाउँमा गाडी रोक्न लगाउने, सम्भावित जोखिम कम हुने बित्तिकै अर्को ठाउँमा पास गर्ने भनेर तयारी भएको छ । यसलाई स्थानीय प्रशासनले हेरिरहेको छ ।’
उहाँले बीपी राजमार्ग, पृथ्वी राजमार्ग, त्रिभूवन राजमार्गमा सुरक्षार्थ सुरक्षाकर्मीहरू धेरै खटाएको बताउनु भयो ।