चितवन । चितवनको पर्यटकीय क्षेत्र सौराहा नजिकै खोरसोरमा रहेको हात्ती प्रजनन् तथा तालिम केन्द्रमा पछिल्लो समय धेरै हात्तीका छावा जन्मिए ।
यस केन्द्रमा हात्तीको छावा बढेसँगै हेरचाहमा खटिने माहुतेहरूले कठिनाइ भोग्दै आइरहेका छन् । कर्मचारीको दरबन्दीभन्दा धेरै हात्ती भएपछि उनीहरू कठिनाइ भोग्न बाध्य छन् । यो हो पर्यटकीय नगरी सौराहा नजिकै खोरसोरमा रहेको हात्ती प्रजनन् तथा तालिम केन्द्र ।
सुरक्षाका लागि चाहिने हात्तीको संख्या बढाउन २०४४ सालमा यो केन्द्रको स्थापना गरिएको थियो । स्थापनाको ६ वर्षपछि यहाँ एउटा छावा जन्मिएको थियो । हालसम्म यो केन्द्रमा हात्तीका ६९ वटा छावा जन्मिसकेका छन् । यिनको हेरचाहमा निरन्तर माहुते तथा अन्य कर्मचारी खटिँदै आइरहेका छन् । दुःख-सुख गर्दै हात्तीको हेरचाह गर्दै आइरहेका उनीहरू पछिल्लो समय धेरै नै कठिनाइ भोग्न बाध्य छन् ।
हात्ती बढेपछि अहिले एउटा हात्ती एउटा कर्मचारीले मात्रै हेर्नुपर्ने बाध्यता छ । जबकी एउटा हात्तीको हेरचाहमा कम्तीमा ३ जना कर्मचारी चाहिन्छ । स्तनधारी जनावरमध्ये हात्ती सबैभन्दा ठूलो हो । यति ठूलो जनावरलाई हेरचाह गर्न कर्मचारीलाई निकै चुनौती छ । एक्लै भएका जंगली हात्ती, बाघ, गैंडासँग जम्काभेट हुँदा पनि हात्तीको हेरचाह खटिनुपर्छ ।
गत आर्थिक वर्ष २०८१/८२ मा ५ वटा र चालु आर्थिक वर्षको सुरुवातमा एउटा गरी ६ वटा भर्खर जन्मिएका छावा छन् । विगतमा हात्तीको जन्मसँगै दरबन्दी थप हुन्थ्यो । तर अहिले त्यसो नहुँदा समस्या भएको हो । करारमा कर्मचारी राखेर भए पनि समस्या समाधान गर्न कोसिस भइरहेको चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले जनाएको छ ।
यहाँ जन्मिने हात्तीलाई हुर्काएर पछि निकुञ्जका विभिन्न पोस्टमा खटाइन्छ । हाल यहाँ ठूला हात्ती ९, तालिम प्राप्त ६ र तालिम नगरेका ७ गरी २२ वटा हात्ती छन् । यो प्रजनन् केन्द्र र चितवन राष्ट्रिय निकुञ्जभित्रका विभिन्न पोस्टमा गरी ५८ वटा हात्ती छन् ।
हात्ती प्रजनन् केन्द्रमा ३३ सहित कुल १३७ जना मात्रै कर्मचारी छन् । १५५ दरबन्दी भए पनि दरबन्दीअनुसार कर्मचारी छैनन् । एउटा हात्तीलाई ३ कर्मचारी चाहिने भएकाले कम्तीमा १७४ दरबन्दी आवश्यक छ ।