काठमाडौं । बडा दशैंको मुख्य दिन आज विजया दशमी । आश्विन शुक्ल दशमीका दिनमा मनाइने दशैंको टिका अर्थात विजया दशमीमा मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा र आशिर्वाद ग्रहण गरिदैछ ।
नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदैछ। दशैं घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ। टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चांग निर्णायक विकास समितिले आज बिहान ११ बजेर ५३ मिनेटको साइत उत्तम रहेको जनाएको छ।
विजया दशमी आफैंमा शुभ दिन भएकाले आज टीका लगाउन साइतभन्दा अघि र पछि पनि टिका लगाउन सकिने छ। नवरात्रभर विधिवत पूजा गरिएको देवीलाई आज बिसर्जन गरिएपछि घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजया दशमीको टीका लगाइन्छ।
आज नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन्। असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने विजयादशमी बडादसैंको सबैभन्दा महत्त्वपूर्ण दिन हो। त्रेता युगमा आजैका दिन भगवान रामले असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरू गरिएको धार्मिक विश्वास छ।
त्यसैले आजको दिनलाई विजयको प्रतीकका रूपमा पनि लिइन्छ। आज गुरू, पुरोहित, हजुरबुबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नव दुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उनीहरूबाट यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ।