रूकुम पश्चिममा खेलकुदका पूर्वाधारको अवस्था दयनीय, मैदान अभावमा खेल गतिविधि सञ्चालन गर्न कठिनाइ

आश्विन १२, २०८२ |महेश केसी
रूकुम पश्चिममा खेलकुदका पूर्वाधारको अवस्था दयनीय, मैदान अभावमा खेल गतिविधि सञ्चालन गर्न कठिनाइ

रूकुम पश्चिम । पहाडी जिल्ला रूकुम पश्चिममा पर्याप्त भौतिक पूर्वाधार नहुँदा खेल गतिविधिहरू सञ्चालन गर्न कठिन हुने गरेको छ । 

पछिल्लो पल्ट जिल्ला सदरमुकाम खलंगामा आयोजना गरिएको एक फुटबल प्रतियोगिता यस्तो मैदानमा खेलिराखिएको छ जहाँ न क्षेत्रफल पुग्छ, न अरू मापदण्ड नै पुग्दो छन् ।

म यतिबेला रुकुम पश्चिमको सदरमुकाम खलंगास्थित बराहटाकुरा खेल मैदानमा छु ।

गत सोमबारदेखि दशैंको उपलक्ष्यमा यहाँको स्थानिय 'मुसिकोट ब्वाईज'को आयोजनामा 'द लेजेन्ट कप' फुटबल प्रतियोगिता चलिरहेको छ । जसमा जिल्लाभरबाट जम्मा ३० वटा टिमले भाग लिएका छन् । 

दुःखको कुरा त के छ भने यो फुटबल ग्राउण्ड नै मापदण्ड अन्तर्गत छैन जसका कारण एक टिममा ११ जना खेलाडी हुनुपर्नेमा ७/७ जनाका बीचमा खेल खेलाइएको छ ।

फुटबलका लागि १ सय ५ मिटर लम्बाई र ६८ मिटर चौडाई भएको ग्राउण्ड आवश्यक पर्ने भएपनि यहाँ यसको आधाभन्दा कम अर्थात् ४३ मिटर लम्बाई र ३६ मिटर चौडाई भएको यो मैदानमा जसोतसो खेलाडीहरू खेल खेल्न बाध्य छन् ।

रूकुम पश्चिमको सानीभेरी र चौरजहारीमा फुटबलका लागी पुग्ने १/१ वटा ग्राउण्ड भए पनि त्यहाँ मैदानबाहेकका अरू संरचना बन्न सकेका छैनन् भने यी दुई वटा मैदान जिल्ला सदरमुकाम मुसिकोट खलंगा भन्दा टाढा पर्छन् ।

मुसिकोट नगरपालिकाभित्र विभिन्न स्थानमा रंगलशाला बनाउनका लागी थालिएका काम अलपत्र छन् । जसले गर्दा यसप्रकार क्षेत्रफल नै नपुग्ने असुरक्षित मैदानमा जवरजस्ती खेल गतिविधी सञ्चालन गर्नुपरिरहेको अवस्था छ ।

अरू विभिन्न खेलकुद गतिविधि बेला-बेलामा आयोजना गरिने भएपनि जिल्लाका यसरी फुटबल प्रतियोगिता भने विरलै आयोजना गरिन्छ । यसको मुख्य कारण भनेको प्रयाप्त खेलमैदान र यससँग जोडिएका अरू भौतिक संरचनाको विकास नहुनु नै हो ।

फुटबल मात्रै होईन अरू धेरै खेल गतिविधहरू गर्नका लागि यसप्रकार खेल मैदान लगाएतका भौतिक पूर्वाधारको पुर्ण रूपमा विकास हुन जरूरी छ । यसतर्फ सरकार र सरोकारवालाको ध्यान कहिले जान्छ ?


Image

महेश केसी

केसी रुकुम पश्चिम र रुकुम पूर्वका लागि कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।