जनकपुर । जेन-जी आन्दोलनपछि भएकाे विकसित घटनाक्रममा विस्थापित भएका मधेश प्रदेशका प्रहरी कार्यालयहरू क्रमशः पुनर्स्थापना भइरहेका छन् ।
विभिन्न संघ/संस्था र स्थानीयको सहयोगमा प्रहरी कार्यालय सञ्चालनमा आए पनि पोसाक र विश्राम स्थलको व्यवस्था अझै दुरुस्त हुन नसकेका कारण नियमित कामकाजमा समस्या छ ।
तोडफोड, आगजनी र लुटपाटका कारण प्रहरीलाई मधेश प्रदेशमा भौतिक संरचना, सवारीसाधन लगायतमा ८ करोड भन्दा बढि क्षति भएको अनुमान छ । जनकपुरधामको दुलहा दुलहीन बस पार्कको छेउमै रहेको यो जिल्ला ट्राफिक प्रहरी कार्यालय हो ।
गएको भदौ २४ गते जेन-जी आन्दोलनपछि विकसित घटनाक्रममा भएकाे तोडफोड, आगजनी र लुटपाटका कारण ट्राफिकहरुलाई यहाँबाट विस्थापित हुनु परेको थियो । तर मधेश प्रदेशको राजधानी जनकपुरधामको जनजीवन सामान्य भएसँगै ट्राफिक प्रहरी अहिले काममा फर्की सकेका छन् ।
यहाँ कार्यालय, आवास, पोसाक र सवारी साधान जलेर नष्ट भएको हो । जेन-जी आन्दोलनको क्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषा जस्तै मधेश प्रदेशमा रहेका ७७ वटा प्रहरी इकाईमा आंशिक र १३ वटा प्रहरी इकाई पूर्णरुपमा क्षतीग्रष्त भएको थियो ।
सब भन्दा बढी धनुषामा २३, सर्लाहीमा २०, सिरहामा १४, रौतहटमा १२, पर्सामा ११, सप्तरीमा ६, वारामा ३ र महोत्तरी १ गरी ७ करोड ३१ लाख २२ हजार भन्दा बढी मुल्य बराबरको भौतिक क्षति भएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
आन्दोलनको क्रममा मर्ज र विस्थापित भएका १ सय ४१ वटा प्रहरी इकाई मध्ये १ सय ३६ वटा पुन:स्थापना भइ सकेको छ भने ५ वटा हुन अझै बाँकी छ । ८४ जना प्रहरी कर्मचारी घाइते भएको र २ करोड ६ लाख ७८ हजार मुल्य बराबरको ४९ वटा सवारी साधन जलेको थियो ।
प्रहरी कार्यरत रहेको स्थानमा फर्किसके पनि नियमित कामकाज सम्पादनका लागि कतिपय स्थानमा पोसाक र विश्राम स्थलको अझै व्यवस्था हुन सकेको छैन ।
अपराध अनुसन्धान, सूचना सङ्कलन र आदानप्रदान, प्राकृतिक सम्पदाको दोहन नियन्त्रण, वातावरण संरक्षण, विपद् व्यवस्थापन, साइबर अपराध नियन्त्रण, सामुदायिक सचेतना, सामाजिक विकृति तथा बेचबिखन लगायत अपराध नियन्त्रणमा प्रहरीले भूमिका खेल्दै आएको छ ।