अपहरणमा परेका अभिषेक सिंह मृत अवस्थामा भेटिए

आश्विन ७, २०८२ |विनय आजाद
अपहरणमा परेका अभिषेक सिंह मृत अवस्थामा भेटिए

सिरहा । सिरहामा तीन दिनदेखि अपहरणमा परेका एक किशोर मृत अवस्थामा भेटिएका छन् । गोलबजार नगरपालिका-१३ भेल्हा डंगराहाका संजय सिंहका छोरा १५ वर्षीय अभिषेक सिंह मृत अवस्थामा भेटिएका हुन् ।

गाउँकै एक आँप बगैंचामा मंगलबार बिहान करिब ६ बजे अभिषेक मृत भेटिएको प्रहरीले जनाएको छ । उनी असोज ५ गते साँझ घरबाट बेपत्ता भएका थिए । परिवारले रातभर खोज्दा पनि उनी भेटिएका थिएनन् ।

तर, उनी बेपत्ता भएको भोलीपल्ट बिहान ८ बजे अभिषेककै इमोबाट आमाको इमोमा जब एउटा म्यासेज आयो, त्यसपछि बल्ल परिवारजनले अभिषेक अपहरणमा परेको थाहा पाए । अभिषेकको परिवारसँग अपहरणकारी समूहले म्यासेजमार्फत् पाँच करोड रुपैयाँ फिरौती माग गरेका थिए ।

अपहरणकारी समूहले प्रहरीलाई वा अन्य कसैलाई यसबारे नभन्न पनि धम्की दिएका थिए । यसलगत्तै परिवारजनले प्रहरीलाई गुहारेका थिए । त्यसपछि परिवार र प्रहरीले संयुक्त रूपमा अभिषेकको खोजी गरिरहेकै बेला उनी मृत भेटिएका हुन् ।

आफू घटनास्थलमै रहेको र तालिमप्राप्त डग टोली मगाएर घटना सम्बन्धमा विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रमुख प्रहरी उपरीक्षक अनन्तराम शर्माले जानकारी दिनुभयो ।


Image

विनय आजाद

आजाद कान्तिपुर टेलिभिजन सिरहाका संवाददाता हुन् ।