‘देश नरहे नागरिक र संविधान नरहे सुशासन रहँदैन’

आश्विन २, २०८२ |जितेन्द्र बानियाँ
‘देश नरहे नागरिक र संविधान नरहे सुशासन रहँदैन’

भूमिका- मानव सभ्यता र विकासको आधार राष्ट्र, नागरिक, संविधान र सुशासनमा टेकेर अगाडि बढेको हुन्छ । 

यिनीहरुको आपसमा अन्तर्निहित सम्बन्ध रहेको हुन्छ । यदि देश नै रहेन भने नागरिकको अस्तित्व हुँदैन । नागरिक नभए संविधान अर्थहीन हुन्छ र संविधान नभए सुशासन सम्भव हुँदैन । त्यसैले यी सबै घटकहरू एक-अर्काको परिपूरक र आवश्यक आधार हुन् ।

देश भनेको केवल भूगोल मात्र होइन, बरु भाषा, संस्कृति, इतिहास, पहिचान र सार्वभौमिकताको प्रतिक हो। कुनै राष्ट्र नभएको अवस्थामा त्यहाँ बस्ने मानिसहरू केबल बासिन्दा मात्र हुन्छन्, उनीहरूको कुनै कानुनी अधिकार वा स्वतन्त्रता हुँदैन। 

विश्व इतिहासमा उपनिवेश बनेका राष्ट्रका जनताले आफ्नो अधिकार र पहिचान गुमाएको उदाहरण प्रशस्त पाइन्छ । त्यसैले राष्ट्रकै अस्तित्वले मात्र नागरिकलाई अधिकार सम्पन्न र सम्मानित बनाउँछ ।

तर राष्ट्र भए पनि सचेत, उत्तरदायी र अनुशासित नागरिक नभए देश सबल र समुन्नत बन्न सक्दैन । नागरिक भनेको केवल देशभित्र बस्ने मात्र होइन, बरु कानुनी मान्यता प्राप्त र अधिकार तथा कर्तव्य दुवै निर्वाह गर्ने व्यक्ति हो । 

नागरिकले आफ्नो कर्तव्यप्रति जिम्मेवार नभए संविधान कमजोर हुन्छ र शासन व्यवस्था अस्थिर बन्छ । त्यसैले नागरिक नै राष्ट्र निर्माण र संविधानको जीवन्तताका मुख्य आधार हुन् ।

नागरिक र राष्ट्रलाई जोड्ने दस्तावेज संविधान हो । संविधान राष्ट्र र नागरिकबीचको सामाजिक सम्झौता हो । जसले शासनको स्वरूप, नागरिक अधिकार, कर्तव्य, समानता, स्वतन्त्रता र न्याय सुनिश्चित गर्छ । 

संविधान नभए शासक मनपरी शासन गर्छन्, जसले तानाशाही, अन्याय र विभेद जन्माउँछ । नेपालको सन्दर्भमा २०४७ सालको संविधानले प्रजातन्त्रको अभ्यासलाई बलियो बनायो भने २०७२ सालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरी जनअधिकारलाई सुरक्षित गरेको छ ।

सुशासन भनेको पारदर्शी, जवाफदेही, न्यायपूर्ण र जनमुखी शासन हो । सुशासनका आधारभूत तत्वहरूमा कानूनको शासन, पारदर्शिता, जवाफदेहिता, समानता, न्याय, नागरिक सहभागिता र भ्रष्टाचार नियन्त्रण जस्ता कुराहरु पर्छन् । 

यी सबै कुराहरुलाई संविधानले निर्देसित गरेको हुन्छ । संविधानले नीति नियम बनाउँछ, नागरिकले त्यसलाई पालन गर्छन् र राष्ट्रले त्यसलाई कार्यान्वयन गर्छ । यसरी हेर्दा देश बिना नागरिक हुँदैनन्, नागरिक बिना संविधान अर्थहीन हुन्छ र संविधान बिना शासक अराजक हुन्छ । अन्ततः यी सबै बिना सुशासन प्राप्त गर्न सकिँदैन ।

नेपाल जस्तो बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुकमा संविधानले सबैलाई समान अधिकार दिन आवश्यक छ त्यसकोलागि हालको संविधान केही अपुरो होला अधुरो होला यसलाई सुधार गर्न आवश्यक होला । 

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ ले सबै नागरिकलाई समानता, न्याय र स्वतन्त्रताको ग्यारेन्टी गर्न बाँकी होला तर कोशिश गरेको छ । संविधानको पालना नभए संघीयता, लोकतन्त्र र मानव अधिकार सबै खतरामा पर्छन । 

सुशासनको आधार नै देशभक्त नागरिकहरुको सचेत सहभागितामा सबैले आ-आफ्नो कर्तब्य निर्बाह गर्दै संविधानको, नियम, कानुनको पालना गर्नु हो ।

यसरी हेर्दा देश, नागरिक, संविधान र सुशासन एउटै श्रृङ्खलाका कडिहरू हुन् । देश नरहे नागरिक हुँदैनन्, संविधान नरहे नागरिक अधिकार सुरक्षित हुँदैनन्, र यी दुवै बिना सुशासन सम्भव हुँदैन । त्यसैले देशलाई सुरक्षित राख्नु, नागरिकलाई जिम्मेवार बनाउनु र संविधानलाई पालन गर्नु नै सुशासनको आधार हो । 

नेपाललाई समुन्नत, स्थिर र न्यायपूर्ण बनाउन हामी सबैले देश, र संविधानप्रति आस्था राख्दै सुशासन निर्माणमा आफ्नो सक्रिय भूमिका निर्वाह गर्नुपर्छ।

निष्कर्ष

हाल नेपालमा भइरहेको जेन-जी आन्दोलनको क्रममा थुप्रै जनधनको क्षति भइसकेको छ । स-साना भाइबहिनीहरु भ्रष्टाचार मुक्त देश, सुशासन युक्त समाजको लागि कलिलै उमेरमा आफ्नो बलिदानी दिएका छन् जेन-जी पुस्ताले गरेको यो साहस र योगदानको लागि नेपाली समाज सधैं ऋणी रहने छ तर आज जेन-जी को यो बलिदानी र रगत माथि विभिन्न शक्तिहरूले आ-आफ्नो स्वार्थ पुरा गर्न खोजिरहेका छन् । 

आन्दोलनको क्रममा देशका कार्यपालिका ,व्यव्थापिका र न्यायपालिका तीन वटै संरचना पूर्ण रुपमा ध्वस्त भएको अवस्थामा हामीले बाँकी भएको संविधान पनि ध्वस्त गर्न लाग्दा देशमा ठूलो अस्थिरता र अराजकताको अबस्था सृजना हुने छ । 

यसले जेन-जीहरुको भ्रष्टचार मुक्त देश र शुसासन युक्त समाज निर्माणको सपना अधुरो, अपुरो रहन सक्छ । तसर्थ संविधानमा रहेका थुप्रै असहमतिहरु र विवादित विषयहरूलाई छलफल बहस गरी पुन स्लेखन वा संशोधन गर्न सकिन्छ आवश्यक परेको खण्डमा जनमत संग्रहमा जाने अवस्थापनी आउन सक्छ तर हाल यो शुन्यको अवस्थालाई अझ शून्यता र अन्योलतामा लैजानु हुँदैन ।

पानी हल्लिएको बेला पानीमा हेर्दा आफू पनि हल्लिएको देखिनु र स्पष्ट चित्र न आउनु स्वाभाविक हो यस्तो अवस्थामा कुनै पनि कुराको साइज मापन गर्नु र चित्रको कल्पना गर्नु गलत हुने हुनाले पानीलाई अझ हल्लाउने भन्दा शान्त हुन दिने र स्पष्ट चित्र हेरेर अवस्थाको आकलन गर्न सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुमा अनुरोध छ ।

संविधान दिवसको सम्पूर्णमा शुभकामना ।

जितेन्द्र बानिया

उपाध्यक्ष रिटर्नि फेडेरेसन नेपाल


Image

जितेन्द्र बानियाँ

बानियाँ रिटर्नी फेडेरेसन नेपालका उपाध्यक्ष हुन्