काठमाडौं । भदौ २३ गते काठमाडौँमा आयोजित जेन-जी युवाहरूको आन्दोलनका क्रममा नेपालगञ्ज उपमहानगरपालिका-१ धम्बोझीका दुईजना युवाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा २३ वर्षीय सुलभराज श्रेष्ठ र १९ वर्षीय आयुष थापा छन् । नेपालगञ्ज सहकर्मी रेजिना मल्ल सुलभ र आयुषको नेपालगञ्जस्थित घरमा पुगेर तयार पार्नुभएको यो रिपोर्ट-
नेपालगन्ज-१ का सुलभराज श्रेष्ठ, बाबुआमाका एक मात्र सन्तान थिए। नर्सरीदेखि १० कक्षा भेरी इङ्लिस मिडियम बोर्डिङ स्कुलमा पढेका सुलभले ११ र १२ कक्षा क्यापिटल कलेज अफ रिसर्च एन्ड सेन्टरमा पढे ।
काठमाडौँ इन्जिनियरिङ कलेज इन्जिनियरिङ गरेका सुलभ पढाइमा अब्बल, खेलकुदमा सक्रिय र मिलनसार थिए । उनको सपना उच्च शिक्षापछि आफ्नै देशमा केही गर्नुपर्ने थियो। थप अध्ययनका लागि अमेरिका जाने तयारीमा थिए। तर, भदौ २३ गते बानेश्वर क्षेत्रमा भएको प्रदर्शनका क्रममा लागेको गोलीले सुलभको सपना र परिवारको आशाको ज्योति दुवै निभ्यो ।
आयुष थापा पनि परिवारका एक मात्र छोरा। नर्सरीदेखि १० कक्षा एन्जल्स हाई स्कूल, १२ कक्षा आदर्श मा.वि नेपालगञ्जबाट उत्तीर्ण गरी उच्च शिक्षा अध्ययनका लागि फ्रान्सको कलेजमा भर्ना भइसकेका थिए ।
फ्रान्स जाने कागजपत्र तयार गरेर भदौ ३ गते काठमाडौं गएका आयुषको आन्दोलनकै दौरान गोली लागेर मृत्यु भयो । सबै कुरा थाहा पाइसकेका ७० वर्षीय हजुरबुबा तोपबहादुर थापा भने आफूलाई सम्हाल्दै बसिरहेका छन्।
१९ वर्षको कलिलो उमेरमै आयुष थापाको जीवनयात्रा टुंगिएको छ। भदौ २३ गतेको आन्दोलनमा सहभागी हुन गएकै बेला गोली लागेर आयुष ढले, कहिल्यै नउठ्ने गरेर।
मातृभुमिको मुहार फेर्ने सपना बोकेर हिँडेका नेपालगञ्जका यी दुई युवा अब छैनन्। तर जुन सपना देखेर यी युवा जेन-जी आन्दोलनमा सरिक भएर प्राण अर्पण गरे त्यो अधुरो सपना र सोच अहिले पनि सजीव छ।