गृहमन्त्री अर्यालकाे प्रतिबद्धता- जेन-जी आन्दोलनको निष्पक्ष छानबिन र स्वच्छ निर्वाचन

भाद्र ३०, २०८२ |अञ्जना लामिछाने
गृहमन्त्री अर्यालकाे प्रतिबद्धता- जेन-जी आन्दोलनको निष्पक्ष छानबिन र स्वच्छ निर्वाचन

काठमाडौं । बेथिति र भ्रष्ट्राचारविरूद्ध खबरदारी गर्दै कानुन व्यवसायीका रूपमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएका ओमप्रकाश अर्यालले गृह र कानुनजस्त प्रभावशाली मन्त्रालयको जिम्मा पाउनुभएको छ । 

साेमबार पदभार ग्रहण गर्दै मन्त्री अर्यालले जेन-जी आन्दोनका कारण बिथोलिएको शान्ति सुरक्षा कायम गर्नेदेखि आन्दोलनका क्रममा भएका घटनाको निष्पक्ष छानबिन गर्ने र राज्यका तीन वटै निकायको पुनर्संरचना गर्नेसम्मका योजना अघि सार्नुभएको छ । 

यस्तै ६ महिनाभित्र सबै पक्षलाई सहमतिमा ल्याउने पहल गर्दै धाँधलीरहित स्वच्छ र निष्पक्ष निर्वाचन गराउन भूमिका निर्वाह गर्ने उहाँको प्रतिबद्धता छ । जेन-जी सल्लाहकारको रूपमा रहेर अन्तरिम सरकार निर्माणमा समेत भूमिका महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका अधिवक्ता ओमप्रकाश अर्याल २ वटा शक्तिशाली मन्त्रालयसहित कार्यकारीको भूमिकामा पुग्नुभएको छ । 

खासगरी जेन-जी आन्दोलनका कारण बिग्रिएको शान्ति सुरक्षा कायम गर्नेदखि त्यसक्रममा भएका घटनाको निष्पक्ष छानबिन गरी कारबाहीको दायरामा ल्याउने दायित्व उहाँमाथि छ । पदभार ग्रहण गर्दै मन्त्री अर्यालले जेन-जी आन्दोलनमा अत्यधिक बल प्रयोग भएको आशंका व्यक्त गर्दै निष्पक्ष छानबिन आफ्नो प्राथमिकता रहेको बताउनुभयो ।

मन्त्री अर्यालले कानुन मन्त्रालयमा पदभार ग्रहण गर्दै ३ वटा निर्णय गर्नुभएको छ । आन्दोलनका क्रममा ज्यान गुमाउने प्रदर्शनकारी र सुरक्षाकर्मीको सम्मानस्वरूप शोक दिवस मनाउने, राष्ट्रिय झण्डा आधा झुकाउने, मृतकका परिवारलाई काजक्रियाका लागि एक लाख उपलब्ध गराउने र शव व्यवस्थापनका लागि नि:शुल्क सवारी साधनको व्यवस्थापन गर्न दुर्गमका लागि हेलिकोप्टरको समेत व्यवस्था गर्ने निर्णय गर्नुभएको छ ।

मन्त्री अर्यालले शान्ति सुरक्षाका लागि कुनै सम्झौता नगर्ने पनि बताउनुभयो । आन्दोलनका क्रममा क्षति पुगेका संरचनाको पुननिर्माण मात्र नभएर व्यवहारको पनि पुनर्संरचना गरिनुपर्ने उहाँको भनाइ छ । 

सबै राजनीतिक दललाई समेटेर स्वच्छ निष्पक्ष निर्वाचन गराउन आफूले भुमिका निर्वाह गर्ने पनि उहाँले बताउनुभयो । मुलुकमा सुशासन कायम गदै पारदर्शी ढंगले काम गर्ने वातावरण बनाउनु अहिलेको आवश्यकता भएको उल्लेख गर्दै उहाँले विधिको शासन कायम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

मन्त्री अर्यालले बदलिँदो संक्रमणकालीन अवस्थालाई स्वीकार गर्न र विवाद नगर्न पनि आग्रह गर्नुभएको छ ।


Image

अञ्जना लामिछाने

लामिछाने कान्तिपुर टेलिभिजनकी संवाददाता हुन् ।