बुटवलस्थित कोरिया-नेपाल बहुप्रवाधिक शिक्षालयमार्फत कोरिया जाँदै युवा, सबै प्रक्रिया नि:शुल्क

भाद्र २२, २०८२ |अमृता अनमोल
बुटवलस्थित कोरिया-नेपाल बहुप्रवाधिक शिक्षालयमार्फत कोरिया जाँदै युवा, सबै प्रक्रिया नि:शुल्क

बुटवल । सीप र भाषा नजान्दा वैदेशिक रोजगारीमा गएका धेरै युवाले समस्या भोगेका छन् । 

यस्तो बेलामा कोरियन सरकारको लगानीमा बनेको कोरिया नेपाल बहुप्राविधिक शिक्षालय बुटवलले सिधैं कोरिया जाने र कमाउने सीप सिकाउँदैछ । यो कार्यक्रम कसरी सञ्चालनमा छ त ?

कोरिया नेपाल बहुप्राविधिक शिक्षालय कोरियन उच्च प्रविधिको प्रयोग गरेर प्राविधिक शिक्षा पढाउन बुटवलको तामनगरमा २०६८ सालमा स्थापना भएको हो । यही शिक्षालयले २ वर्षअघिदेखि एचआरडी कोरियासँग समन्वय गरेर युवालाई रूट इन्डष्ट्रको वेल्डिङ तालिम दिदै इ-नाइन भिसामा सिधैं दक्षिण कोरिया पठाउँदै आएको छ । 

जसमा कोरियामा अत्यधिक माग भएको पानी जहाज र उत्पादन सामाग्रीमा काम लाग्ने सीप सिकाइन्छ । प्राविधिक शिक्षालयले सन् २०२३ देखि रूट इन्डष्ट्रिज अन्तरगत कोरिया पठाउने प्रक्रिया थालेको हो । 

दुई वर्षमा तालिम लिएका ८० जना कोरिया गइसकेका छन् । यो कार्यक्रममा यति आकर्षण छ कि यसपालि तालिम लिन १ हजार २ सय ६४ जनाले आवेदन दिएका थिए । त्यसमध्ये ५० जनाले तालिमको अवसर पाएका छन् । उनीहरू तालिम लिएर दक्षिण कोरिया जाने तयारीमा छन् ।

रूट इन्डष्ट्रिज अन्तर्गत शिक्षालयले २ महिना वेल्डिङ तालिम दिन्छ । छनोट भएका युवाले ५५ हजार ५ सय रूपैयाँ शुल्कमा कोरियन भाषा र वेल्डीडको तालिम पाउँछन् । 

कोरियन प्राविधिक नै नेपाल आएर उनीहरूको सीप परीक्षण गर्छन् । भाषा परीक्षा पास गरेपछि उनीहरू नि:शुल्क कोरिया जान पाउँछन् । जहाँ अन्य भिसाबाट जानेको भन्दा उनीहरूको तलब दोब्बर हुन्छ ।

कोरियन सरकारको लगानीमा बनेको यस शिक्षालयमा कोरियन प्रविधियुक्त इलेक्ट्रीकल, मेकानिकल, अटो मोबाइल्स, रेफिजरेसन, सुचना प्रविधिलगायतका विषयमा १ सय ६० घण्टादेखि ३ वर्षे डिप्लोमा सम्मको प्राविधिक पढाइ हुन्छ ।

वैदेशिक रोजगारीमा जान चाहने धेरै युवाको सपनाको देश हो दक्षिण कोरिया । तर, सीप र विधि नजान्दा धेरै युवाको सपना पूरा भएको छैन । यस्तो बेलामा कोरिया नेपाल बहुप्राविधिक शिक्षालय बुटवलले सहजै कोरिया जाने र कमाउने सीप सिकाउन थालेको हो । 

देशले वैदेशिक रोजगारीबाट फाइदा लिन अन्य प्राविधिक शिक्षालयमा पनि यस्तै सीप सिकाउने कि ?


Image

अमृता अनमोल

अनमोल कान्तिपुर टेलिभिजन रुपन्देही संवाददाता हुन् ।