काठमाडौं । यूएईमा सम्पन्न युनिटी कपअन्तर्गत वेस्ट इन्डिजविरुद्धको टी-२० आई सिरिजमा २-१ को हात पार्दै इतिहास रचेको नेपाली टोली अहिले आत्मविश्वासले भरिपूर्ण देखिन्छ ।
नेपाली टोली अहिले असोज २२ गतेदेखि ओमानमा हुने आईसीसी पुरुष टी-ट्वेन्टी विश्वकप एसिया तथा इस्ट एसिया-प्यासिफिक संयुक्त छनोटमा केन्द्रित छ । यो प्रतियोगिता नेपाली क्रिकेटका लागि अर्को सुनौलो अवसर हो ।
सन् २०१४ मा पहिलो पटक टी-२० विश्वकप खेलेको नेपालले दोस्रो पटक यो प्रतियोगितामा सहभागी हुन १० वर्ष लगायो । तर यस पटक भने नेपाली टोली लगातार दोस्रो र समग्रमा तेस्रो पटक टी-२० विश्वकपमा स्थान बनाउन प्रतिबद्ध देखिन्छ ।
भारत र श्रीलंकामा संयुक्तरुपमा हुने टी-२० विश्वकप २०२६- मा पुग्न तीन स्थानका लागि ९ राष्ट्रबीच १० दिन लामो संघर्ष हुने छ । त्यो संघर्षको मैदानमा नेपाल पनि छ । नेपालले यसअघि वेस्ट इन्डिजसँगको ऐतिहासिक टी-२० शृङ्खला खेलेर नयाँ आत्मविश्वास बटुलेको छ ।
त्यही जोश र आत्मविश्वाससहित क्यानले १५ सदस्यीय नेपाली टोली घोषणा गरेको छ । यूएई गएको १६ सदस्यीय टोलीमा साहव आलमलाई ट्राभलिङ रिजर्भमा राखिएको छ । यसरी छानिएको टोलीको एउटै लक्ष्य छ- विश्वकपमा पुग्ने ।
छनोट प्रतियोगितामा नेपाल समूह-२ मा छ । जहाा उसको भिडन्त कुवेत र जापानसाग हुनेछ । असोज २२ गते कुवेत र २४ गते जापानको सामना गर्नेछ । यी दुई खेल नेपाली क्रिकेटका लागि अत्यन्तै महत्वपूर्ण हुनेछन् । समूहका शीर्ष दुई टोली मात्र सुपर-सिक्स चरणमा पुग्नेछन् ।
समूह चरण पार गरेर सुपर-सिक्समा प्रवेश गर्ने जुनसुकै टोलीका लागि अन्तिम चुनौती अझै ठूलो हुनेछ । २६ देखि ३१ असोजसम्म चल्ने सुपर-सिक्समा सबै टिमले अन्तिम मौका पाउनेछन् । यस चरणसम्म पुग्ने टोलीले आफ्नै समूहबाट अघि बढेको टोलीबाहेक अन्य ४ टोलीविरुद्ध प्रतिस्पर्धा गर्ने छन् ।
९ टोलीबीच समूह चरणमा ९ र सुपर सिक्समा १२ गरी कुल २१ खेल हुने छन् । सुपर सिक्सपछि शीर्ष तीन स्थान हासिल गर्ने राष्ट्रले मात्र भारत र श्रीलंकामा हुने विश्वकप २०२६ मा स्थान सुरक्षित गर्ने छन् । अफ्रिका छनोटबाट नामिबिया र जिम्बावे अघि बढेसँगै अहिलेसम्म १७ राष्ट्रले विश्वकपमा स्थान सुरक्षित गरिसकेका छन् । अब बाँकी तीन स्थान ओमानमा हुने यो प्रतियोगिताबाट तय हुनेछ ।
नेपालका लागि यो प्रतियोगिता क्षमता प्रमाणित गर्ने अवसर हो । वेस्ट इन्डिजलाई हराएर ऐतिहासिक शृङ्खला जितेको जोश अझै ताजा छ र यही आत्मविश्वासलाई ओमानमा दोहोर्याउने जिम्मेवारी रोहित पौडेल नेतृत्वको टोलीमा छ ।