प्राकृतिक विपद्‌प्रति सचेत रहन जिल्ला प्रशासन संखुवासभाको आग्रह

आश्विन १७, २०८२ |दीपेन्द्र शाक्य
प्राकृतिक विपद्‌प्रति सचेत रहन जिल्ला प्रशासन संखुवासभाको आग्रह

संखुवासभा । जिल्ला प्रशासन कार्यालय संखुवासभाले जिल्लावासीलाई भारी वर्षा तथा सम्भावित प्राकृतिक विपद्‌प्रति सचेत रहन अपिल गरेको छ ।

प्रशासनले असोज १७ देखि २० गतेसम्म संखुवासभा सहित देशका विभिन्न भागमा भारी वर्षा हुने सम्भावना रहेको भन्दै सचेत रहन भनेको हो । जोखिम न्यूनीकरणका लागि सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको जनाएको छ । 

सार्वजनिक सूचनामार्फत प्रशासनले अत्यावश्यक नपरी घर बाहिर ननिस्कन, पहिरो तथा डुबानको सम्भावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानको जानकारी राख्न र आवश्यक परेमा सर्ने तयारी गर्न आग्रह गरेको छ ।

त्यस्तै, सडक अबरुद्ध भएमा तत्काल खटाउन मिल्ने गरी डोजर, लोडर जस्ता उपकरण तयारी अवस्थामा राख्न र साझेदार संस्थाहरूलाई विपद्‌ व्यवस्थापन समितिको सम्पर्कमा रहि अलर्टमा रहन पनि अनुरोध गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाद्वारा जारी सूचनामा विपद्‌ सम्बन्धी सूचना वा आपत्कालीन अवस्था आएमा जिल्ला प्रहरी कार्यालय वा जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रमा तत्काल जानकारी गराउन आग्रह गरिएको छ ।


Image

दीपेन्द्र शाक्य

शाक्य संखुवासभाका कान्तिपुर टेलिभिजन सहकर्मी हुन् ।