काठमाडौं । देवराज इन्द्रको पूजा-आराधना गरी आज काठमाडौंमा इन्द्रजात्रा पर्व मनाइँदैछ।
प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँसँगै ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा पनि मनाउने गरिन्छ ।
भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि सुरु भएको जात्रा विभिन्न नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने चलन छ।
आज राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा अवलोकन गरिन्छ। द्वादशीका दिन इन्द्रध्वजाको लिङ्गो ठड्याएपछि शुरु हुने जात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ।
इन्द्रध्वजाको लिङ्गो ठड्याएको आठौँ दिनपछि अर्थात् आश्विन कृष्ण चौथीका दिन लडाउने विधान छ। इन्द्रजात्राका दिन सरकारले काठमाडौँ उपत्यकामा बिदा दिने गरेको छ।