उदयपुर/ उदयपुर जिल्लाको चौदण्डी नगरपालिका–४ ले काठमाडौंमा शिविर आयोजना गरी आफ्ना नागरिकहरुलाई सेवा प्रवाह गरेको छ । ‘एकीकृत सेवा प्रवाह शिविर’ नाम दिइएको अभियानमार्फत उक्त वडाका नागरिकहरुले सेवा प्राप्त गरेको वडा अध्यक्ष लुङाराज राईले जानकारी दिनुभयो । वडाले काठमाडौंमा हालै ५ दिने शिविरको आयोजना गरी नागरिकहरुलाई सेवा प्रदान गरेको हो ।
‘उदयपुरका धेरै स्थायी बासिन्दाहरुले काठमाडौंमा अस्थायी बसोबास गर्नुहुन्छ । उहाँहरु हजारौं रकम र लामो समय खर्च गरेर स–साना कामका लागि यहाँबाट उदयपुर जानुपर्ने बाध्यता रहिआएको छ’ अध्यक्ष राईले भने, ‘उहाँहरुको सहजताका लागि हामीले काठमाडौंमा नै पाँच दिने शिविर आयोजना गरी वडाबाट हुने विभिन्न सेवाहरु प्रदान गरेका हौं ।’
शिविरमा सामाजिक सुरक्षाभत्ता दर्ता तथा नवीकरण, मालपोत तथा भूमि कर संकलन, पञ्जीकरण तथा घटना दर्ता सम्बन्धी सम्पूर्ण सेवाहरुलगायत वडा कार्यालयबाट प्रवाह हुने सम्पूर्ण सेवाहरु प्रदान गरिएको अध्यक्ष राईले बताउनुभयो ।
यससँगै वडाले विभिन्न परियोजनाहरुको गुरुयोजना बनाई विकास र समृद्धिको बाटोमा वडालाई अग्रसर गराइरहेको पनि अध्यक्ष राईले बताउनुभयो । वडाले बहुबर्षीय योजनाका रुपमा डिप बोरिङको परियोजनालाई संचालन गरिरहेको छ । प्रत्येक डिप बोरिङले ६० विघाको दरले २ सय ४० विघा जमीनमा सिंचाइ गर्न पुग्ने छ । प्रति डिप बोरिङ करिब १ करोड लगानी लाग्ने अध्यक्ष राईले बताउनुभयो ।