बुटवल । बुटवलमा लालपूर्जाविहीनलाई पूर्जा दिने चुनावी नारा धेरै बने । धेरैपटक घरजग्गा नापजाँच पनि भयो । तर, पूर्जा बनेन । यसपालि बुटवल उपमहानगरको अगुवाइमा फेरि जग्गा नापजाँच अगाडि बढाइएको छ ।
चारैतिरबाट मान्छे बटुलिएर बनेको बजार हो बुटवल। बढ्दो सहरीकरण र राजनीतिक मिलेमतोले यहाँको धेरै सार्वजनिक क्षेत्र ओगटेर घरबास बनाइएको छ । स्थानीय तहले त्यसमा विद्युत, पानी र सडक सुविधा पुर्याइदिएको छ ।
सार्वजनिक क्षेत्रमै आलिसन घर बनेका छन् । तर, राज्यलाई सुको राजश्व बुझाएका छैनन् । बुटवल उपमहानगरपालिकाले तिनै नागरिकहरूलाई लालपुर्जा वितरण गर्न जग्गा नापजाँचको काम अगाडि बढाएको छ । त्यसका लागि जग्गा नापजाँच, अभिलेख, संकलन र प्रमाणिकरणको प्रक्रिया चलिरहेको हो ।
५ वर्षअघि बुटवल उपमहानगरपालिकाले निकालेको तथ्यांकअनुसार बुटवलमा १६ हजार १ सय ९३ घर सार्वजनिक क्षेत्रमा बनेका छन् । सबैभन्दा धेरै बुटवल ११ मा सरकारी जग्गा ओगटेर बस्ती बसेको छ ।
बाढीको जोखिमलाई बेवास्ता गर्दै तिनाउ किनारमा नदीको बहाव मिचेर मात्र होइन नदीको बीचमा उठेको भूभागमा समेत लस्करै घर बनाइएका छन् । बुटवलका यी अव्यवस्थित क्षेत्रमा पटकपटक जग्गा नापजाँच भएको छ ।
यसले एकातिर बुटवल र आसपासमा सार्वजनिक जग्गा मिच्ने र किनबेच गर्ने बढेको छ । अर्कोतर्फ वास्तविक सुकुम्बासी र विपन्न भूमिहीन घरजग्गाको पूर्जा नपाउँदा निराश बनेका छन् ।
बुटवलको अव्यवस्थित बसोवासी सबै ओगटेर बसेका होइनन् । एकले सार्वजनिक जग्गा ओगटेर बेच्दै जाँदा महंगो रकममा किनेका व्यक्ति धेरै छन् । तर धेरैले अहिलेसम्म लालपूर्जा पाएका छैनन् । जग्गाधनी पूर्जा नपाउँदा ऋण खोजेर केही गर्छु भन्दा पनि केही गर्न नपाएको उनीहरूको दुखेसो छ ।
राजनीतिक दलको भोट बैंकका रूपमा रहेका बुटवलका अव्यवस्थितवासी वर्षौदेखि लालपुर्जाको पर्खाइमा छन् । बुटवल उपमहानगरले असोजभित्र सबै जग्गा नापजााच गरेर सुकुम्बासी आयोगलाई सिफारिस गरी लालपूर्जा वितरण गर्ने बताएको छ । तर, पटकपटक चुनावी नारा बने पनि झुक्याइएका बुटवलका अव्यवस्थितबासी अहिले पनि पूर्जा पाउनेमा ढुक्क छैनन् ।