काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसका सांसदहरूले अख्तियार दुरूपयोग अनुसन्धान आयोगसम्बन्धि विधेयक अघि बढाउन नचाहेको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
मंगलबार सिंहदरवारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै नेपाली कांग्रेसकाका महामन्त्री एवं सांसद गगनकुमार थापा र सांसद दिलेन्द्रप्रसाद बडूले सो विधेयक अघि बढाउनका लागि प्रधानमन्त्री केपी शर्मा ओली र सम्बन्धित मन्त्रीहरूलाई तत्काल दबाब दिन पनि समितिकी सभापति ईश्वरीदेवी न्यौपानेलाई सुझाव दिनुभयो ।
उहाँले सो विधेयकको क्षेत्राधिकारको विषय अदालतको विषय भएपनि त्यसमा सरकारको स्पष्ट धारणा आउनुपर्ने माग गर्नुभयो । त्यसैगरी सांसद बडूले सरकारले सो विधेयक अघि नबढाएको आक्रोश व्यक्त गर्नुभयो ।
उहाँले सो विधेयकलाई अघि बढाउनका लागि समितिका सभापति न्यौपानेलाई विशेष पहल गर्न पनि सचेत गराउनु भयो । सांसद बडूले सो विधेयक सरकारले नचाहेको कारण समितिमा अघि नबढन नसकेको पनि बताउनु भयो ।
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले सो विधेयक समितिमा अघि बढाउन सभापति न्यौपानेलाई दबाब दिनुभयो । उहाँले विगतमा पनि समितिका निःवर्तमान सभापति रामहरि खतिवडाले सो विधेयक अघि बढाउन नदिएको गुनासो गर्नुभयो ।
प्रमुख सचेतक पाण्डेले २०७६ सालमा संसद्मा दर्ता भएको सो विधेयक अझै पारित नहुनु लाजमर्दो विषय भएको उल्लेख गर्दै सो विधेयकलाई समितिले आफ्नो अधिकारलाई प्रयोग गरेर अघि बढाउनुपर्ने र त्यसले सरकारलाई पनि दबाब पुग्ने बताउनु भयो ।
यता जनता समाजवादी पार्टीका सांसद अशोककुमार राईले संघीयता कार्यान्वयनसँग सम्बन्धित विधेयकहरू छिटो अघि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले समितिले प्रहरी ऐनलगायतका अति आवश्यक ऐन निर्माणमा लागि सक्दो पहल गर्नुपर्ने पनि बताउनु भयो ।
बैठकमा समितिका अन्य सदस्यहरूले संघीयता कार्यान्वयनका लागि आवश्यक सबै कानून निर्माण हुनेगरी अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका थिए ।