काठमाडौं । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले साधना प्रधान संघर्षको प्रतिक भएको बताउनुभएको छ ।
अखिल नेपाल महिला संघ र साधना स्मृति समाजले मंगलबार आयोजना गरेको कार्यक्रममा उहाँले साधना प्रधानलाई संघर्षको, सम्मान र निरन्तरताको प्रतिकको रुपमा लिनुपर्ने बताउनुभएको हो ।
साधना प्रधानले राणा शासनको विरुद्धमा महिलाहरुको लागि शिक्षा, मताधिकार, लोकतन्त्रको लागी निरन्तर संघर्ष गर्नुभएको उपाध्यक्ष शाक्यले बताउनु भयो । उहाँले प्रधानलगायतका महिला नेतृहरूको कारण देश संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुगेको उहाँले बताउनु भयो ।
उहाँले हाल निरङ्कुशता, एकात्मक शासन व्यवस्था नरहेको पनि बताउनु भयो । उहाँले निरन्तर संर्घष गरिरहे समाजवादको लक्ष्यमा पनि एकदिन पुग्ने दाबी गर्नुभयो ।
उहाँले साधना प्रधान जस्तै राजनितिमा निरन्तरता दिन महिलाहरुलाई आग्रह गर्नुभयो । नेकपा (माओवादी केन्द्र)की नेतृ शशी श्रेष्ठले महिलाहरुको साझा आन्दोलनको अहिलेको उपलब्धि हासिल भएको बताउनु भयो ।
उहाँले हाल पाएको उपलब्धीलाई रक्षा गर्दै थप अधिकारको लागी संघर्ष गर्नुपर्नेमा जोड दिनुभयो । नत्र अहिले पाएको उपलब्धी पनि खोसिन सक्ने उहाँको भनाइ थियो । काठमाडौ महानगपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्यले साधना प्रधान राणा शासनको समयमा महिलालाई मताधिकार दिनुपर्छ भनेर पद्य शमशेरसँग भन्न जाने शाहस रहेको महिला भएको बताउनु भयो ।
अखिल नेपाल महिला संघ र साधना स्मृति समाजले नेपाली महिलाले पहिलो पटक मताधिकार प्रयोग गरेको दिन एवं प्रथम महिला जनप्रतिनिधि साधना प्रधानको स्मरणमा मंगलवार पुस्तक विमोचन तथा सम्मान कार्यक्रम आयोजना गरेको हो ।