भूमि विधेयकमा नसघाउँदा सरकारले गौर घटना उछाल्यो : सचिव मण्डल

भाद्र १७, २०८२ |विनय आजाद
भूमि विधेयकमा नसघाउँदा सरकारले गौर घटना उछाल्यो : सचिव मण्डल

सिरहा । जनता समाजवादी पार्टी, नेपालका सचिव सुरेशकुमार मण्डलले आफ्नो पार्टीले सरकारलाई भूमि विधेयकमा साथ नदिँदा गौर घटना उछालिएको आरोप लगाउनुभएकाे छ । सिरहाको मिर्चैयामा मंगलबार आयोजित प्रेस मञ्च नेपालको मधेश प्रदेश अधिवेशनमा सम्बोधन गर्दै उहाँले यस्तो आरोप लगाउनुभएकाे हाे ।

सरकारले दलाल र विचौलियाको स्वार्थमा भूमि विधेयक ल्याएको र यसमा साथ नदिँदा तर्साउनका निम्ति गौर घटनाको अस्त्र प्रयोग गरिएको आरोप उहाँको छ । 'सरकारलाई विचौलियाको सेवा गर्नुछ, हामीले स्वीकार गरेनौं, सरकारलाई दिएको समर्थन फिर्ता लियौं,' उहाँले भन्नुभयाे, 'तर, सरकारले हामीले तर्साउन गौर घटनाको अस्त्र प्रयोग गर्यो ।'

आफ्नो पार्टीको अडान देश तथा जनताको पक्षमा रहेको भन्दै अहिलेकै अवस्थामा कुनै पनि हालतमा यो विधेयक स्वीकार गर्न नसकिने उहाँले स्पष्ट पार्नुभयाे । 'हामी आन्दोलनकारी हौं,' उहाँले भन्नुभयाे, 'सरकारले जस्तोसुकै हतकण्डा अपनाए पनि हामी हाम्रो अडानबाट दायाँबायाँ हुँदैनौं ।'

गौर घटना दुःखद् भएको र घटना भएको दिन आफ्नो पार्टीका अध्यक्ष उपेन्द्र यादव काठमाडौंमा एक कार्यक्रममा रहेको दाबी उहाँले गर्नुभयाे । यस्तै, मधेश आन्दोलनले मुलुकलाई परिवर्तनको बाटोमा डोर्याएको भन्दै यसलाई अपराधिरकण गर्न खोजिएकोमा उहाँले दुःख व्यक्त गर्नुभयाे ।


Image

विनय आजाद

आजाद कान्तिपुर टेलिभिजन सिरहाका संवाददाता हुन् ।