दार्चुला सदरमुकाम खलंगामा चार दिनदेखि खानेपानीको अभाव, दमकलबाट पानी वितरण

भाद्र १७, २०८२ |मनोज बडू
दार्चुला सदरमुकाम खलंगामा चार दिनदेखि खानेपानीको अभाव, दमकलबाट पानी वितरण

दार्चुला । पहिरोले खानेपानीको पाइप बगाएपछि दार्चुला सदरमुकाम खलंगामा चार दिनदेखि खानेपानी अभाव भएको छ । 

टुटेको खानेपानीको लाइन मर्मत नहुँदा महाकाली नगरपालिका-४ र ५ अन्तर्गतका घरधुरीमा खानेपानी अभाव भएको हो । महाकाली नगरपालिका-३ गाराक खोलाबाट आएको पानी दुई ठाउमा अवरूद्ध भएपछि खलंगामा खानेपानी अभाव भएको हो । 

पहिरोका कारण बडाली गाउँ र मालबेला क्षेत्रमा खानेपानीका पाइप टुटफुट भएर सदरमुकाममा खानेपानी अभाव भएको महाकाली नगरपालिका-४ का वडाध्यक्ष जगत चुनाराले बताउनुभयाे । बजारमा पानी नआउँदा झन्डै दुई हजार दुई सय घरधुरीका १० हजारभन्दा मानिसहरू प्रभावित भएका छन् ।

वडाध्यक्षका अनुसार धारामा पानी नआउँदा सदरमुकामको मुख्य बजार, बङ्गाबगर, खेट्याखोला, गल्फै क्षेत्र, मोहतीको टाढाबाट पानी बोकेर खान बाध्य भएका छन् । खानेपानी अभाव हुँदा पनि खानेपानीको जिम्मा लिएको निकायले निरन्तरको वर्षाका कारण सुचारू गर्न नसकिएको जनाइएको छ । 

खानेपानी उपभोक्ता समितिका सचिव खडकसिह धामीका अनुसार आइतबार र सोमबारको वर्षाले मर्मत गर्न सकिएको छैन् । मंगलबार बिहानैबाट मर्मतमा प्राविधिकहरू जुटिसकेका छन् । खानेपानीको पाइप रहेको क्षेत्रमा पहिरो खसेकाले मर्मत कार्यमा समय लाग्ने देखिन्छ ।

दार्चुलामा २०७७/७८ सालदेखि सुरू गरिएको खलंगा सहरी खानेपानी तथा सरसफाई आयोजनाको लागत २९ करोड रूपैयाँ रहेको छ । निर्माणको जिम्मा ग्वालेक निर्माण सेवाले लिएको भए पनि सम्झौता अनुसार डेढ वर्षमै सकिनुपर्ने आयोजनाको काम सकिएको छैन् । 

खलंगा शहरी खानेपानी आयोजनालाई निर्माण गरेर हस्तान्तरण नभएको अवस्था छ ।

दमकलबाट पानी वितरण

विगत चार दिनदेखि समदरमुकाम खलंगा क्षेत्रमा खानेपानीको अभाव महाकाली नगरपालिकाको दमकलबाट पानी वितरण गर्न लागिएको छ । धौलीगाडबाट पानी दमकलमा भरि बजार क्षेत्रमा पानी वितरण भईरहेको नगरपािलकाका उपप्रमुख दुर्गा खत्री बिष्टले बताउनुभयाे ।


Image

मनोज बडू

बडू दार्चुलास्थित कान्तिपुर टीभीका संवाददाता हुन् ।