सर्वोच्चले प्रधानमन्त्री ओलीको विश्वासको मतसम्बन्धी विवादको मुद्दा पूर्ण सुनुवाइमा पठायो

भाद्र १७, २०८२ |कान्तिपुर टीभी संवाददाता
सर्वोच्चले प्रधानमन्त्री ओलीको विश्वासको मतसम्बन्धी विवादको मुद्दा पूर्ण सुनुवाइमा पठायो

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको मतसम्बन्धी विवादको मुद्दा पूर्ण सुनुवाइका लागि पठाउने आदेश गरेको छ ।

न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको संयुक्त इजलासले मुद्दामा विपक्षीको लिखित जवाफ पेस भएलगत्तै अन्तिम सुनुवाइका लागि पेस गर्ने आदेश गरेको हो । 

हालसम्म लिखित जवाफ दर्ता नभएको र मुद्दामा अन्तरिम आदेश जारी गर्नुभन्दा अन्तिम किनारा गर्नुपर्ने देखिएको उल्लेख गर्दै सर्वोच्चले मिति तोकेर फैसलाको सुनुवाइका लागि पठाएको हो । 

यसअघि सुनिलकुमार पोखरेलको इजलासले कारण देखाऊ आदेश गर्दै लिखित जवाफ माग गरेको थियो । दोस्रो सुनुवाइमा न्यायाधीशद्वय महेश शर्मा पौडेल र नृपध्वज निरौलाको इजलासले तीन वटा फाइल मगाउँदै मंगलबारका लागि पेसी तोकेको थियो । 

इजलासले नागरिक उन्मुक्ति पार्टीले सरकारबाट समर्थन फिर्ता लिएको भनी संसद् सचिवालयमा पठाएको पत्र र पुनः समर्थन गरेको पत्र झिकाउन आदेश गरेको थियो । 

यस्तै, नागरिक उन्मुक्ति पार्टीबाट सरकारमा सहभागी मन्त्री अरुणकुमार चौधरीले राजीनामा दिएको आधिकारिक पत्र झिकाउन अदालतले आदेश गरेको थियो । यसअघि न्यायाधीश मेघराज पोखरेलको इजलासले चार प्रश्न उठाउँदै लिखित जवाफ मगाएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.