पहिरोले अवरुद्ध कर्णाली राजमार्ग चार दिनपछि सञ्चालनमा

भाद्र १७, २०८२ |कान्तिपुर टीभी संवाददाता
पहिरोले अवरुद्ध कर्णाली राजमार्ग चार दिनपछि सञ्चालनमा

काठमाडौं । अविरल वर्षापछि आएको ठूल्ठूला ढुङ्गासहितको पहिरोले अवरुद्ध कर्णाली राजमार्ग चार दिनपछि खुलेको छ । 

गगने खोलामा आएको पहिरोले भदौ १४ गते बिहानदेखि अवरुद्ध भएको राजमार्ग मङ्गलबार दिउँसोदेखि खुलेको हो । सडक खुलेसँगै चार दिनदेखि रोकिएका स्याउ बोकेका ट्रक सुर्खेत नेपालगन्जतर्फ गएका छन् । 

सडक अवरुद्ध भएपछि १३ करोड रुपैयाँभन्दा बढीको १ सय ८४ मेट्रिक टन स्याउ बोकेका ट्रक चार दिनसम्म बाटोमै रोकिएका थिए । यसले स्याउ कुहिने चिन्ता बढाएको थियो । 

पहिरोले ल्याएको ढुङ्गा ब्रेकर लगाएर ढुङ्गा फोड्ने प्रयास गरे पनि सम्भव नभएपछि मङ्गलबार विस्फोट गराइएको थियो । नेपाली सेनाले चार पटकसम्म विस्फोट गराएर सडक खुलाएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दीपेन्द्र चौधरीले जानकारी दिनुभयो । 

स्याउकै सिजनमा हरेक वर्ष राजमार्ग अवरुद्ध हुने समस्या भएकाले यसको दीर्घकालीन समाधान तथा ढुवानीमा सहुलियत दिनुपर्ने किसान तथा व्यापारीले माग राख्दै आएका छन् । 

यसैबीच वर्षात अझै जारी रहेकाले कर्णाली राजमार्गमा पहिरोको जोखिम कायम रहेको हुँदा सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न सडक डिभिजन कार्यालय जुम्लाले अनुरोध गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.