काठमाडौं । अध्यागमन विभागले आगामी असोज १ गतेदेखि विदेशी नागरिक दर्ता तथा अनुगमन प्रणाली लागू गर्ने भएको छ ।
विभागले नेपाल भ्रमण गर्ने विदेशी नागरिकहरुको सुरक्षा, सुचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने उद्देश्यले यस प्रणालीको विकास गरेको हो ।
यस प्रणालीलाई दुई चरणमा गरेर लागू गर्ने विभागको तयारी छ । पहिलो चरणमा २०८२ असोज १ गतेदेखि काठमाडौं उपत्यकाभित्रका तारे होटलहरुमा अनिवार्य रुपमा लागू गरिने विभागले जनाएको छ ।
दोस्रो चरणमा मंसिर १ गतेदेखि सबै तारे होटल, विमान कम्पनी, टुर एण्ड ट्राभल्स कम्पनी, मनी एक्सचेन्जहरुमा र क्रमशः सबै प्रकारका होटल, गेष्ट हाउस र अन्य सार्वजानिक तथा निजी संस्थाबाट प्रवाह हुने सेवामा लागू गरिनेछ ।
अध्यागन विभागका महानिर्देशक रामचन्द्र तिवारीले नेपालभित्र प्रवेश गर्ने विदेशी नागरिकको सूचना राज्यले राख्नको लागि यस प्रणाली लागू गर्न लागिएको बताउनु भयो । उहाँले नेपाल प्रवेश गरेका जो कोहीको गतिविधि राज्यको सूचनामा हुनुपर्ने भएकाले यो प्रविधि जडान गरिएको बताउनु भयो ।
दुई वटा कारणले उनीहरु राज्यको निगरानीमा हुनुपर्ने विभागका महानिर्देशक रामचन्द्र तिवारीको भनाइ छ । पहिलो कारण विदेशी नागरिक, पर्यटकहरुको सुरक्षा, उनीहरुलाई आवश्यक परेको बेलामा राज्यले दिनुपर्ने सुविधा, उद्धार, खोज रहेको उहाँले बताउनु भयो ।
शाहसिक पर्यटनको लागि नेपाल आउने पर्यटकहरुलाई समस्या परेको बेला तुरुन्तै उद्धार गर्न गाह्रो परिरहेको उहाँको भनाइ छ । दोस्रो, नेपाल भित्र प्रवेश गरेर विदेशीहरुले देशको भिषा विपरित, प्रचलित कानून, सामाजिक मूल्य, राजनितिक, सामाजिक, आर्थिक चाखहरुको विरुद्धमा कुनै काम गरेको भए पत्ता लगाउन आवश्यक रहेको महानिर्देशक तिवारीको भनाइ छ । उहाँले अपराध अनुसन्धानको हिसाबले पनि यो प्रणाली निकै महत्वपूर्ण भएको बताउनु भयो ।
यस प्रणाली लागू गर्ने विभागको तत्कालिन उद्देश्य भने पर्यटकहरुको गतिविधिको निगरानी गर्ने भएको महानिर्देशक तिवारीले बताउनु भयो । पर्यटकहरु कुनै होटलमा गएपछि होटलले चेक ईन र चेक आउटको सूचना मात्रै विभागको सिष्टममा फाल्ने उहाँले जानकारी दिनुभयो ।
त्यो भन्दा बढी उनीहरुले के खाए, कतिबेला सुते लगायतका विषय राज्यले खोजेर नबस्ने उहाँको भनाइ छ । उहाँले यस प्रणालीमा पर्यटकलाई समावेश गर्ने नभई उनीहरुले सेवा प्रवाह गर्ने संस्थाहरुलाई समावेश गर्न लागिएको बताउनु भयो ।
पर्यटकलाई सेवा सुविधा प्रदान गर्ने होटल, बैंक, मनि एक्सचेन्ज, ट्राभल एजेन्सी, हवाई कम्पनी, सवारी कम्पनीमार्फत पर्यटकहरुको गतिविधि निगरानी गर्न लागिएको उहाँले जानकारी दिनुभयो । ती कम्पनीहरुले राखेका रेकर्ड विभागको प्रणालीमा राख्न लागिएको उहाँको भनाइ छ ।
उहाँले यसका लागि दुई वटा मोडलमा विभागले काम गरेको जानकारी दिनुभयो । एउटा, सम्बन्धित संस्थाले विभागको सिष्टममा सूचना अपडेट गर्नुपर्नेछ भने अर्को एपिआईमार्फत संस्थाहरुले प्रयोग गरिरहेको सिष्टमलाई विभागको सिष्टममा सुचना फाल्नेगरि व्यवस्था मिलाएको उहाँले बताउनु भयो ।
विभागका महानिर्देशक तिवारीले नेपाल प्रवेश गरेको पर्यटक अध्यागमनबाट नफर्केसम्म राज्यले आवश्यक परेको बेला, उनीहरुकै परिवारलाई, विदेशी नियोगहरुलाई आवश्यक परेको बेलामा कहाँ छ भन्ने जानकारी उक्त प्रणालीले दिने बताउनु भयो । यो प्रणाली नहुँदा पर्यटकहरु कहाँ के गरिरहेको छ भन्ने थाहा पाउन मुस्किल भएको उहाँको भनाइ छ ।
व्यक्तिगत डाटाको दुरुपयोग होला नी भन्ने प्रश्नमा उहाँले यो डाटा राज्यले लिन लागेकोले दुरुपयोग हुने सम्भावना नै भएको बताउनु भयो । अध्यागमनले ट्रयाकिङ गर्न लागेको भन्दा बढी विवरण पर्यटकहरुलाई भिषा दिँदा नै विभागसँग हुने उहाँको भनाइ छ । उहाँले साईवर सुरक्षाका लागी रोबर्ट सिष्टम बनाएको पनि बताउनु भयो ।
विभागले विदेशी नागरिकहरुलाई सेवा प्रवाह गर्ने सबै सार्वजानिक संस्था एवं निजी कम्पनीहरुलाई यस प्रणालीमा अनिवार्य आवद्ध हुन आग्रह गरेको छ । विभागकाअनुसार अन्तर्राष्ट्रिय प्रतिष्ठा र राष्ट्रिय आत्मसम्मानको अभिवृद्धि, पर्यटन प्रवद्र्धनका लागि मुलुकभित्र हुने सबै आवागमन र गतिविधिहरु राज्यको जानकारीमा राख्नको लागि यस प्रणालीको विकास गरिएको हो ।
विदेशी नागरिक दर्ता तथा अनुगमन प्रणालीको कार्यन्वयन गर्न विभागले ७७ वटै जिल्लाका जिल्ला अनुगमन समितिहरुलाई पत्राचार गरिसकेको जानकारी दिएको छ । जिल्ला प्रशासन कार्यलयमार्फत नियमित रुपमा अनुगमन हुने विभागले जनाएको छ ।