बुटवल । तीज नजिकिँदै छ । तपाईँ तीज कसरी मनाउँदै हुनहुन्छ ? लोक लयको बढ्ता चल्ती रहेको बुटवल भने तीजमय बनिसकेको छ ।
तीज हिन्दू महिलाको राम्रो लगाउने, मीठो खाने, माइती वा आफन्त भेटेर सुखदुःख साट्दै नाचगान गरेर रमाइलो गर्ने पर्व हो । तीज नजिकिँदै गर्दा बुटवललाई तीजको माहोलले छपक्कै ढाकेको छ । घरघरदेखि चौतारा र होटल रेष्टुरामा महिलाहरू भेला भई तीज गीतमा नाचगान गरेर रमाइरहेका छन् ।
सौभाग्य पोशाकसहित श्रृंगारमा सजिएका महिलाहरू अहिले महिला समूह, टोल समूह, संघसंस्थाले आयोजना गरेका तीजका कार्यक्रममा रमाइरहेका छन् । संघसस्थाले पर्व मनाउने यो शैलीले कामकाजी र माइतीघरबाट टाढा हुने महिलाका लागि पनि तीज रमाउने माध्यम बनेको छ ।
धार्मिकरूपमा पार्वतीले शिवलाई पति पाउन निराहार व्रत गरेको कथामा आधारित पर्व हो तीज । तर पश्चिम पहाडमा पहिल्यैदेखि नै साउने संक्रान्तिदेखि महिलाहरू जम्मा भएर नाचगान गर्ने र रमाउने चलन छ । सोही पहाडी जनसंख्या बसाइँ सरेर बुटवल झरेपछि तीजको माहोल एक महिनाभन्दा बढी चल्ने गरेको छ ।
तीज महिला स्वतन्त्रता, मनोरञ्जन र अधिकारको उपयोग गर्न पाउने ठूलो अवसर हो । हिंसा, विभेद, चेतना, विद्रोह, अधिकार र सुखदुखका पल एकसाथ उठाउन पाउने स्वतन्त्रताको पर्व पनि हो ।
यसैले होला बुटवलका महिला आफ्नो अवस्था, परिवेश, सुख, दुःख, स्वतन्त्रता, अधिकार र सशक्तिकरणको कुरा गीत बनाएर तीजमा सचेतनामूलक नाचगान प्रतियोगिता पनि आयोजना गरिरहेका छन् ।
लोकलयमा आधारित तीज गीत, तिनका भाका र नाच हाम्रा सांस्कृतिक सम्पदा हुन् । समयसँगै तीज मनाउने, गीत गाउने र नाच्ने शैली फेरिएको छ । तीज संस्कृतिलाई संमृद्ध बनाउन धार्मिक, सामाजिक र सांस्कृतिक पक्ष जोगाउनु जरूरी छ ।