बुटवल । बुटवल भौतिक पूर्वाधार विकासका धेरै सूचकांकमा अगाडि छ। तर, मुख्य बजारकै साढे ३ किलोमिटर सडक विस्तारको काम भने वर्षौर्देखि अलपत्र छ। जसले बुटवल शहरको अन्य क्षेत्रको विकासलाई पनि गिज्याइरहेको छ ।
बुटवलको मध्यभागमा रहेको राजमार्ग चौराहादेखि चिडिया खोलासम्मको साढे तीन किलोमिटर सडक २०७३ सालमा भत्काइएको थियो । भत्काएको ९ वर्ष पुग्दासम्म पनि सडक निर्माण सकिएको छैन । बरू भताभुङ्ग सडकले बुटवल शहरको अन्य ठाउँको विकास र संमृद्धिलाई गिज्याइरहेको छ ।
९ वर्षमा जसोतसो मुख्य सडक पिच त भएको छ । तर, सर्भिस लेन र नाली कहिले बन्ने हो टुंगो छैन । वर्षौंदेखि सडकमा फालिएका निर्माण सामाग्रीले यात्रुलाई सास्ती त भएको छ नै सडक आसपासको व्यापार खस्किइरहेको छ ।
यो सडक पूर्वपश्चिम महेन्द्र र उत्तर दक्षिण सिद्धार्थ दुवै राजमार्गमा पर्छ । सडक २०७२ सालमा कञ्चनजंघा बिरुवा जेभीले २०७६ असारमा सक्ने सम्झौतासहित ठेक्का थिएको थियो । सम्झौताको निकै वर्षपछिसम्म पनि सडक नबेपछि २०८१ वैशाखमा सडक डिभिजन कार्यालय बुटवलले उक्त ठेक्का रद्द गरेर बाबुल दर्शन मालिका जेभी भैरहवालाई नयाँ ठेक्का दियो ।
मालिका जेभीले ३३ करोड ३७ लाख ७१ हजारमा १ वर्षभित्र सक्नेगरी २०८१ असोज १८ मा सम्झौता गरेको थियो । तर, सम्झौता सकिन २ महिना बाँकी रहँदासम्म ५० प्रतिशतमात्रै काम भएको छ । ठेकेदारको ढिलासुस्ती त छँदैथियो सडक विस्तारमा रकमसमेत अभाव भएपछि काम कहिले कसरी सकिने हो सडक डिभिजन कार्यालय आफै अन्योलमा छ ।
बुटवलदेखि भारतीय सीमा क्षेत्र बेलहियासम्मको २७ किलोमिटर सडक आर्थिक वर्ष २०६८, २०६९ मा ६ लेनको बनाउन थालिएको थियो । बुटवलको मुख्य बजारको साढे ३ किलोमिटर र सीमा क्षेत्र बेलहियादेखि बाइपाससम्मको ७ सय ५० मिटर सडक निर्माण नसकिँदा व्यापारिक मार्ग विस्तारको काम १३ वर्ष बित्दा पनि अलपत्र छ । सुरुमा सडक क्षेत्र खाली गर्न नसक्दा रोकिएको काम त्यसपछि निर्माण व्यवसायी र बजेटका कारण अलपत्र परेको हो ।